काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शनिबार र आउँदो बुधबारलाई तोकेको प्रवेश परीक्षा दुई सातासम्मका लागि स्थगित गरेको छ ।
चिकित्सा शिक्षा ऐन कार्यान्वयनका विषयमा चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीचको विवादले प्रवेश परीक्षा अन्तिम समयमा सारिएको हो । रोकिएको परीक्षा भदौ २ र ६ गतेलाई तय गरिएको सीटीईभीटीले जनाएको छ ।
चिकित्सा शिक्षा ऐनविपरीत सम्बन्धन लिएका ४९ वटा कलेजमा आफ्नै तजबिजमा सिट निर्धारण गरेर एचए, फार्मेसी, ल्याबलगायत डिप्लोमा तहमा सिट निर्धारण गरेर सीटीईभीटीले मेडिकल शिक्षाको भर्ना आह्वान गरेको थियो । सो लगत्तै आयोगले विद्यार्थी तथा अभिभावकलाई भर्ना नहुन चेतावनी दिएपछि विवाद चर्किँदै सतहमा आएको थियो ।
मेडिकलतर्फको एचए, फार्मेसी, नर्सिङ, ल्याबलगायतका विषयमा आयोग र सीटीईभीटीबीच विवाद हुँदा इन्जिनिनियरिङ, कृषिलगायत विषयको भर्ना पनि प्रभावित भएको हो । मेडिकलतर्फको प्रवेश परीक्षा सीटीईभीटी र अन्य विषयसम्बन्धी कलेजले नै प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । गतवर्षसम्म सबै विषयको प्रवेश परीक्षा सीटीईभीटीले एकीकृत रूपमा सञ्चालन गर्दै आएको थियो ।