झापा – अनलाईनबाट चिठ्ठा परेको भन्दै ठगी गरेको अभियोगमा झापाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-९ स्थायी ठेगाना भएका २९ वर्षीय पंकज पौडेली विक रहेका छन् ।
अनलाईनबाट चिठ्ठा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन ट्याक्स लाग्छ भन्दै विभिन्न बैंकहरुको खाता नम्बर दिएर पैसा ठगी गर्ने गरेको अभियोगमा विकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौंको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिर्तामोड झापाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा झापा बिर्तामोड नगरपालिका-२ चारपानेबाट पंकजलाई पक्राउ गरेको हो ।
उनको साथबाट नगद ३ लाख ५६ हजार ७ सय १० रुपैयाँ, १ थान सवारी दर्ता किताब, विनोद काफ्लेको नामको सवारी चालक अनुमतिपत्र, अनिल बस्नेत नामको सवारी चालक अनुमतिपत्रको प्रतिलिपी बरामद गरेको छ ।
यस्तै, पंकज पौडेलीको नामको नागरिकताको प्रतिलिपी पंकजको घरबाट नगद २ लाख ८ हजार २ सय र उनको घर पछाडि रहेको गाई ग्वालीको गोवरको थुप्रोभित्र फेला परेको लेडिज झोलाबाट नगद ८ लाख ३० हजार ३ सय ५ रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
उनलाई थप अनुसन्धानको लागि महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।