काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते चितवन, तनहुँ र बारामा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।
बिहीबार रास्वपाले एक विज्ञप्ति जारी गर्दै चितवन निर्वाचन क्षेत्र नम्बर २, तनहुँ–१ र बारा–२ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।
रास्वपाले चितवन–२ मा रवि लामिछानेलाई उम्मेदवार सिफारिस गरेको छ । तनहुँ–१ मा डा. स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रुपक विक घिमिरेको नाम सिफारिस गरिएको छ । त्यस्तै बारा–२ मा रास्वपाले रमेश खरेल र युवराज न्यौपानेको नाम सिफारिस गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुले अब रास्वपाको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनमा भाग लिनेछन् । रास्वपाले यी प्रारम्भिक उम्मेदवारीउपर दाबी विरोध गर्न आज चैत १७ गते बिहान ११ बजेसम्मको समय दिएको छ ।