काठमाडौं – चिनियाँ रक्षामन्त्री वेई फेङहे आज (आइतबार) एकदिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।
चार्टर्ड जहाजमा आइतबार बिहान पौने ११ बजेतिर काठमाडौं आएका रक्षा मन्त्री फेङहे विमानस्थलबाट सिधै बालुवाटारस्थित चिनियाँ राजदूतावास गएका छन् ।
दूतावासमा केहीबेर बसेपछि रक्षामन्त्री फेङहे दिउसो नेपाली सेनाको मुख्यालय जंगी अड्डा जाने छन् । त्यहाँको उनले प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने छन् ।
जंगी अड्डाको कार्यक्रम सकेर रक्षा मन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न दिउँसो ३ बजेतिर बालुवाटार जाने छन् । बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेपछि फेङहे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जानेछन् । उनी आजै साँझ स्वदेश फर्केने कार्यक्रम छ ।