चिनियाँ राष्ट्रपति सी आज काठमाडौं आउँदै

16

काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङ राजकीय भ्रमणका लागि आज नेपाल आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने भ्रमणका लागि राष्ट्रपति सी आज काठमाडौं आउन लागेका हुन् ।

भारत भ्रमणमा रहेका सी त्यतैबाट आज अपराह्न ४ः३० देखि ५ः३० बजेसम्ममा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्रिभुवन विमास्थलमा चीनका राष्ट्रपति सीलाई उच्च सम्मानका साथ स्वागत गर्ने सरकारले तयारी गरेको छ ।

शुक्रबार भारतको यात्रामा निस्केका सी शनिबार त्यहाँको भ्रमण सकाएर चेन्नईबाट नेपाल आउन लागेका हुन् । उनको स्वागतको लागि विमानस्थल तथा उनी बस्ने होटल सोल्टीसम्मको सडक दुवैतर्फ विशेष तवरबाट सिँगारिएको छ । विशेष विमानबाट अवतरण गरेपछि राष्ट्रपति सीले केहीबेर विश्राम लिने र त्यसपछि भेटघाटका कार्यक्रमलाई तीव्रता दिने कार्यतालिका रहेको छ ।

सडकका विभिन्न स्थानमा नेपाल र चीनको मित्रता झल्किनेगरी गेट बनाइएको छ भने फूलका गमलाले सडकका दुवै किनारा रंगीन बनाइएको छ । सडक कालोपत्रे गरिनुका साथै रंगरोगन समेत गरिएको छ । कुनै पनि चिनियाँ राष्ट्रप्रमुखको नेपालमा औपचारिक भ्रमण हुन लागेको यो २३ वर्षमा पहिलो अवसर हो । यसलाई विशेष रुपमा लिँदै नेपाल सरकारले चिनियाँ राष्ट्रपतिलाई उच्चस्तरको आतिथ्यता प्रदान गर्ने तयारी समेत गरेको छ ।

नेपाल अवतरण पछि सीले साँझ ६ः३० बजे नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् । भेटवार्ता राष्ट्रपति कार्यालय, शीतल निवासमा हुनेछ । त्यसपछि सीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् । देउवासँगको भेटवार्तापछि राष्ट्रपति भण्डारीले आयोजना गरेको राजकीय भोजमा सी सहभागी कार्यतालिका छ ।

आइतबार बिहानैदेखि चिनियाँ विशिष्ट अतिथि सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यद्यपि, उक्त मन्त्रालयले वार्ताको मिति सार्वजनिक गरेको छैन ।

नेपालको राजकीय भ्रमण पूरा गरी स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति सीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सो पश्चात् उनी बेइजिङका लागि प्रस्थान गर्नेछन् ।

समाचार वर्गहरू