काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृह मन्त्रालय नपाए सरकार छाड्ने अडानबाट पछि हटेका छन् ।
पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा मन्त्री र अधिकांश सांसदले ‘हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने’ नीति नलिन जोड गरेपछि लामिछाने पछि हट्न वाध्य भएका हुन् ।
बैठकमा लामिछानेले पूर्वसहमतिअनुसार गृह नपाइएको भन्दै सरकारबाट बाहिरिने प्रस्ताव राखेका थिए । त्यसपछि बोलेका मन्त्री र सांसदले गृह नपाएकै कारण सरकारबाट बाहिरिँदा गलत सन्देश जाने भएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल, उच्चस्तरीय संयन्त्र संयोजक केपी शर्मा ओलीसँग थप संवाद गर्नुपर्ने मत राखेका थिए ।
केन्द्रीय सदस्य र सांसदहरूको धारणा सुनिसकेपछि सभापति लामिछानेले गृहमन्त्री को हुने भन्ने किटान नभएको बताएका थिए । ‘मन्त्रालयमा व्यक्तिको कुरा गरेका छौं र ? मै जानुपर्छ भनेका छौं र ?’ एक केन्द्रीय सदस्यले उनको भनाइ उद्धृत गरे ।
रास्वपा अध्यक्ष लामिछानेले बिहीबार दिउँसो सामाजिक सञ्जालमा आफू अभिमन्यु बनेर नबस्ने भन्दै सरकारबाट बाहिरिने चेतावनी दिएपछि पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका थिए ।
दोहोरो नागरिकताको बिषय टुङ्गिएपनी उनीविरुद्ध दोहोरो राहदानी प्रयोग गरेको उजुरी छ । उजुरीमाथि छानबिन गर्ने क्षेत्राधिकार गृह मन्त्रालयअन्तर्गतकै निकायमा पर्ने हुँदा लामिछाने गृहमै फर्कन चाहन्छन । उनको यो चाहना पुरागर्न प्रधानमन्त्री दाहाल त तयार भएनन् नै तर उनकै पार्टी समेत तयार नभएपछी भने लामिछाने यो मामिलामा अभिमन्युनै बन्न वाध्य भएका छन् ।
‘गृह मन्त्रालय हाम्रो पार्टीले पाएको जिम्मेवारी हो । यो अडानबाट हामी पछाडि हट्दैनौं । को व्यक्ति पठाउने भन्ने कुरा पार्टीको निर्णयको अधिकार हो । अन्य व्यक्ति वा पार्टीले यो पठाउनुपर्छ भन्ने होइन,’ रास्वपा प्रवक्ता मुकुल ढकालले बिहिबारको बैठकपछी भनेका थिए ।
यो भनाइबाट पनि कै प्रष्ट हुन्छभने यदि रास्वपाले गृहमन्त्रालय पायो भनेपनी लामिछाने भने गृहमन्त्री हुने छैनन् ।