काठमाडौं – चीनको चिङ्दाओ सहरमा बस्ने सबै जनाको कोरोना परीक्षण गरिने भएको छ । आइतबार १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सो सहरमा रहेका करिब ९० लाख नागरिकको कोरोना परीक्षण हुने भएको हो ।
चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार आगामी ५ दिनमा सहरका सबै बासिन्दाको कोरोना परीक्षण गरिने भएको छ । राजधानी बेइजिङबाट ७ सय किलोमिटर दक्षिणपूर्वमा रहेको तटीय सहर चिङदाओको चिङ्दाओ चेस्ट हस्पिटलमा १२ जनालाई कोरोना पुष्टि भएपछि पूरै सहरमा परीक्षण गर्न लागिएको चिनियाँ अधिकारीले बताएका छन् ।
चीनमा कोरोना परीक्षण निकै द्रुत गतिमा हुने गरेको छ । चिनियाँ स्वास्थ्य आयोगका अनुसार हिजो केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य संस्थाका कर्मचारी र नयाँ भर्ना भएका बिरामी गरी एक लाख ४० हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भइसकेको छ ।
यसअघि चीनले गत मे महिनामा कोरोना भाइरसको उद्गमस्थल मानिएको हुबेई प्रान्तको राजधानी वुहान सहरका करिब १ करोड १० लाख नागरिकको कोरोना परीक्षण गरेको थियो ।