चीनमा सुँगुरको मिर्गाैला मान्छेमा सफलतापूर्वक प्रत्यारोपण

54

काठमाडौं – अमेरिकापछि चीनमा पनि मान्छेमा सुँगुरको मिर्गाैला प्रत्यारोपण गरिएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वामा प्रकाशित खबरअनुसार चीनको शान्सी प्रान्तमा रहेको एयर फोर्स मेडिकल युनिभर्सिटीस्थित सिजिङ अस्पतालमा सुँगुरको मिर्गाैला मान्छेमा प्रत्यारोपण गरिएको छ ।

त्यहाँको मेडिकल टिमले यही मार्च ६ मा ६९ वर्षीया एक महिलामा अणुवांशिक रुपमा तयार पारिएको सुँगुरको मिर्गाैला प्रत्यारोपण गरेको हो । मिर्गाैला प्रत्यारोपण भई यसमा रक्तप्रवाह हुनेबित्तिकै यसले पिसाब उत्पादन गरी काम गर्न सुरु गरेको भनिएको छ।

प्रत्यारोपण भएको तेस्रो दिनदेखि नै मिर्गाैलाले सामान्य अवस्थामा जस्तै काम गर्न थालिसकेको थियो । छैटौँ दिनसम्म पनि मिर्गाैलाको कार्य स्थिर र राम्रो रहेको बताइएको छ । छैटौँ दिनमा मिर्गाैलाले २४ घण्टामा ५ हजार ४६८ मिलिलिटर पिसाब उत्पादन गरेको थियो।

सिन्ह्वाले उल्लेख गरेअनुसार ती महिलाको मिर्गाैला फेल भएको कुरा ८ वर्षअघि पत्ता लागेको थियो । उपयुक्त दाता फेला नपर्दा प्रत्यारोपण हुन सकेको थिएन । हप्तामा ३ पटक डायलासिस गर्दै आएकी थिइन् । पछिल्लो समय डायलासिसका कारण हुने जटिलताहरूले गर्दा उनको स्वास्थ्य बिग्रँदै गएको थियो।

यो सफलता चिकित्सा क्षेत्रमा एक कोसेढुंगा सावित हुने चिकित्सकहरूको भनाइ छ । अंगदाताको अभावमा प्रत्यारोपण गर्न नपाएका कयौँ बिरामीका लागि यो नयाँ आशा भएको प्रत्यारोपणको नेतृत्व गर्ने सिजिङ अस्पतालका डाक्टर डु केफेङले बताएका छन् ।

चीनमा अहिले करिब १३ करोड मिर्गाैला फेल भएका व्यक्ति रहेको सिन्ह्वाले जनाएको छ । हरेक वर्ष लाखौँको संख्यामा मिर्गाैला बिरामीहरू बढिरहेका छन्।

गत वर्ष पहिलो पटक अमेरिकामा सुँगुरको मिर्गौला मान्छेमा सफलतापूर्वक प्रत्यारोपण गरिएको थियो। एजेन्सी

समाचार वर्गहरू