चीनले तयार पार्दैगरेको कोरोना भाइरसविरूद्धको खोप यस वर्षको अन्त्यसम्म बजारमा आउने

25

(काठमाडौं) – चीनमा हाल विकास भइरहेको कोरोना भाइरसविरूद्धको खोप यस वर्षको अन्त्यसम्म बजारमा आउने अनुमान गरिएको छ। चीनको सरकारी निकाय स्टेट काउन्सिलले यस्तो जानकारी दिएको हो।

वुहान वायोलिजिकल प्रोडक्टस् रिसर्च इन्सिट्यूट र बेइजिङ प्रोडक्ट्स रिसर्च इन्सिट्यूटले संयूक्तरूपमा विकास गरिरहेको यो खोपको चिकित्सकीय तथा मानवीय परीक्षणको दुई चरण पूरा भइसकेको छ।

चीनको सरकारी स्वामित्वमा रहेको ‘एसेट सुपरभिजन तथा प्रसाशनिक कमिसन’ले चिनियाँ सामाजिक संजाल विच्याटमा खोप वर्षको अन्त्यसम्म उपलब्ध हुने घोषणा गरेको छ।

२ हजार बढी मानिसमा पहिलो दुई चरणको परीक्षण सम्पन्न भइसकेको छ। ‘यसको चिकित्सकीय परीक्षणलाई तीन चरणमा बाँडिएको छ, बजारमा आउनुपूर्व तेश्रो चरण पूरा गरिनेछ। यो वर्षको अन्त्यसम्म वा अर्को वर्षको सुरूवातसम्म खोप बजारमा आउनसक्छ’, घोषणामा भनिएको छ।

खोप परीक्षणका दुई चरणबाट प्राप्त तथ्यांकले अन्य खोपको भन्दा सुरक्षा र असरका हिसाबले अझ राम्रो छ। हाल विश्वभर सय भन्दा बढी खोपको विकास भइरहेको छ र चीनमा मात्रै ५ वटा कोरोना खोपको परीक्षण र विकास चलिरहेको छ।

यसैगरी कोरोना भाइरसको उद्गम स्थलमा वुहान कोरोनाको महत्वाकांक्षी ‘न्यूक्लिक एसिड परीक्षण’ पूरा गर्ने लक्ष्यको नजिक पुगेको छ। वुहान शहरले प्रत्येक नागरिकको कोरोना परीक्षण गर्ने घोषणा गरेको थियो।

मे १५ देखि २५ को अवधिमा वुहानका स्वास्थ्य परीक्षणकर्मीहरूले त्यहाँका ६५ लाख बढी नागरिकको परीक्षण गरेका थिए। परीक्षणमा २ सय १८ जनामा लक्षण नदेखिएका कोरोना संक्रमित फेला परेका थिए ।

परीक्षणलाई समयमै सक्न स्वास्थ्यकर्मीहरूले १० देखि २० वटा नमुनालाई एकै ठाउँमा मिसाएर तिनको एकल परीक्षण गरेको थियो।यसक्रममा नतिजा पोजेटिभ आएको समूहका मानिसमध्ये कसलाई पोजेटिभ छ भन्ने जान्न उनीहरू नमुना पुनः छुट्टाछुट्टै परिक्षण गरिएको थियो। ( एजेन्सी )

समाचार वर्गहरू