–नारायण गाउँले
देशमा प्रत्येक ५ वर्षमा नयाँ निर्वाचन हुने संविधानमा व्यवस्था गरिएको छ । नेपालको संविधानमा निर्वाचनमा भाग लिनेहरुले पेश गर्नुपर्ने कागजात र विवरण समेत उल्लेख गरिएको छ । तर विद्यमान संविधानलाई समेत अलिकतिपनि अध्ययन नगरि भीडबाट राजनीतिमा उदायका केही नेताहरुको अभिव्यक्तीबाट जसले जे गरेपनि हुने र जे बोले पनि हुने भन्ने मान्यता स्थापीत हुदै गएको होकी भन्ने भान आम जनतामा पर्न गएको छ ।
चुनाब लड्न र मन्त्री बन्न नागरिकता चाहिन्छ भन्ने पनि त रवी लामिछानेलाई परेरै थाहा भएको हो । बीस वर्ष सांसद् भएपछि बल्ल बीस–तीसवटा कानुन फेर्नुपर्छ भन्ने थाहा पाएका छन् । यो प्रश्न आफैमा गलत छैन । तर नपर्दासम्म धेरै कुरा थाहा हुँदैन त्यो पक्का हो तर सामान्य जानकारी भने हुनु पर्दछ । उता गगन थापा चार पटक सांसद् भएको सत्य हो । दुई वटा कार्यकाल संविधान बनाउनै लागेको थियो । त्यस बखत संविधान नबनी कानुन बन्दैन र बनेन ।
उता माओवादी युद्व, गणतन्त्र, मधेश र जनजाति आन्दोलन, भारतको नाकाबन्दी, प्रदेशको सख्या, सीमा र नाम जस्ता कति पेचिला इस्यु पार गरेर संविधान बनेको हो त्यो पनि सम्बन्धीत पक्षलाई सहजै थाहा छ । कानुन लेख्ने निर्वाचन २०७४ को थियो । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड मिलेर बनेको कम्युनिष्ट सरकारसँग दुई तिहाई बहुमत थियो । संसदमा नेपाली कांग्रेस कमिला जत्रो भएको थियो । प्रमुख प्रतिपक्षको नेता शेरबहादुर देउवा रहेका थिए, तर ओम्नीदेखि संसद विघटनसम्म बोल्ने गगन थापामात्रै थिए ।
कानुन बनाउनु पर्ने त्यो पहिलो संसद् प्रचण्ड र ओलीको गाली र मुठभेडमा फसेको थियो । एक दुई पटक त ओलीले संसद् नै विघटन गरे । अदालतले संसद त फिर्ता ग¥यो, तर बाँकी रहेको समय नेकपा एमालेले संसद् चल्न दिएन । देश अध्यादेशले चलेको थियो । पछिल्लो संसदमा कांग्रेस पहिलो दल बनेको थियो । जनमत अनुसार कांग्रेसको नेतृत्वमा सरकार बन्न पर्ने थियो । तर रवी लामिछाने ओलीकै घरमा पुगेर तेस्रो दलका प्रचण्डलाई प्रधानमन्त्री बनाउन राजी भएका थिए । पहिलो भए पनि कानुन निर्माणमा ठूलो भूमिका हुने सत्ता, सभामुख र उपसभामुख दुबै कांग्रेसका थिएनन् ।
बीचमा समीकरण फेरियो । प्रचण्डको आशीर्वादले कांग्रेसले राष्ट्रपति पाएको थियो । नागरिकता जस्तो अति आवश्यक र संवेदनशील विषयमा कानुन बनाउन प्रचण्ड र गगनको ठूलो भूमिका रह्यो । एक वर्षअघि ओली नेतृत्वमा कांग्रेस सरकारमा पुग्यो । त्यसपछि के भयो, भन्न नपर्ला । सन् २००८ मा गणतन्त्र आएपछि आजसम्मको १८ वर्षमा कांग्रेसले जम्मा चार वर्ष सरकार चलाएको छ । ती कुनै पनि वर्ष एकल बहुमतको सरकार थिएन । त्यसमा पनि ठूलो समय संविधान लेखन र चुनाबमा खर्च भएको छ । १४ वर्ष अरूकै नेतृत्व रहेको थियो ।
ठूलो दल भए पनि देशमा जीवित कांग्रेसी पूर्वप्रधानमन्त्री शेरबहादुर मात्रै छन् । प्रचण्ड, बाबुराम भट्टराई, ओली, माधव नेपाल, झलनाथ र खिÞलराज रेग्मीसम्म धेरै पूर्वप्रधानमन्त्री रहेका छन् । पछिल्लो दशक ओली र प्रचण्डकै नेतृत्वमा देश चलेको छ । तथ्य के हो भने बीस वर्ष संघर्ष गरे पनि गगन थापा जम्मा ९ महिनाका लागि मन्त्री हुन पाएका छन् । बरु रविजी नै त्यसभन्दा बढ़ी हुनुभयो । उपप्रधानमन्त्री नै हुनुभयो । दुई दुई पल्ट उपप्रधानमन्त्री भएकै आधारमा रवी लामिछाने टेस्टेड हो भन्न अन्याय हुन्छ । गगन पनि त्यही हो भन्ने लाग्छ ।
गगन विरुद्ध रास्वपा उम्मेदवार अमरेशजी पनि त बारम्बार सांसद् नै हो । कांग्रेसबाटै हो । कानुन नबनेको जिम्मा उहाँहरूको पनि होला । उहाँ नयाँ र गगन पुराना कसरी होलान् र ? एकपल्ट टेस्टेड हुँदा, एकपल्ट स्वास्थ्यमन्त्री हुँदा उनले ल्याएको नीतिगत सुधार, कानुन र कार्यक्रमको त सबैले प्रसंशा गरेकै हुन् । रवीजी आफैले गर्नुभएको हो । आज मृगौला डाइलाइसिस निःशुल्क छ, धिपधिप भए पनि स्वास्थ्यबीमा छ । उपचारका नाममा सरकारी कोषबाट भीआईपीको विदेशयात्रा बन्द छ ।
९ महिनामैं कायापलट त के हुन्थ्यो र ? के देश पछिल्लो एक वर्षमा स्वर्गबाट नर्क भएको हो रु होइन, यो धेरै वर्षको असन्तुष्टि र असफलता हो भने त्यसको जिम्मा त त्यो संसद र सरकारमा हुने गगन र रवि दुबैको पनि अलिअलि त होला नै । योजना आयोगमा रहेर काम गर्ने स्वर्णिमजीहरूको पनि होला । ओली र प्रचण्डसँग कांग्रेसले गठबन्धन गर्नुअघि रास्वपाले पनि गरेकै हो । इत्ती सही, उसको पनि होला । रास्वपाका आधा जति उम्मेदवार त कांग्रेस एमाले लगायत दलबाटै गएका रहेछन् ।
तिनलाई पनि भाग लाग्ला । सीमित स्रोतसाधन र मूल नेतृत्वमा नपुगी केही गर्न नसकिने स्थितिले गर्दा नै यस्तो भएको हो । तर हिजो भर्खर आएका रास्वपाहरूभन्दा सधैँ सदन र सत्तावरपर रहेको कांग्रेस यो बेथितिको पक्कै ठूलो जिम्मेबार हो । रविभन्दा गगनकै जिम्मेबारी बढ़ी हो । तर के १८ वर्षको असफलताको सबै भारी गगनलाई बोकाउनु न्यायपूर्ण होला ? गगन थापाले भदौ २३ का लागि आफ्नो प्रत्यक्ष भूमिका नभए पनि माफी मागेका छन् ।
जिम्मेबारी स्वीकार गरेका छन् । त्यत्ति पनि अरूले गरेको नदेखेर समर्थन गरेको हो । उनी विद्रोहपछि मात्रै बोलेका होइनन्, विद्रोहको दुई(तीन हप्ताअगाडि संसदमा उभिएर सरकारले राम्रो गर्न नसकेको र जनता रिसाएको स्पष्टसँग भनेका थिए । उनले तत्कालीन गृहमन्त्रीलाई टिकट रोकेका छन् । जलेको घरको फोटो बेच्दै सहानुभूति खोजेका छैनन् । तर २४ को विध्वंशमा माफी माग्ने कोही देखिएको छैन १ अदालतदेखि जेलसम्म, सिंहदरबारदेखि उद्योगसम्म लागेको आगोको जिम्मा कसैले लिएको छैन ।
जिम्मेबारीबोध राजनीतिको ठूलो मानक हो । विगत डेढ़ दशक यस्तै आरोप-प्रत्यारोप र घृणामा सकियो । अब गगन र रविहरूले निर्माणको राजनीति गर्नुपर्छ । पढाउन त मास्टर गरेकै भोलिपल्ट पनि सकिन्छ । नयाँ पाठ्यक्रम हुन्छ, नयाँ सोच हुन्छ, राम्रो पढाइएला । तर बीस वर्ष लगाएर एउटा प्राध्यापकले अध्ययन, अनुभव र विज्ञता बटुलेको छ भने त्यसको उपयोग गर्न पनि सकिन्छ । भाइरलदेखि कलाकारसम्म २७५ जना त्यहाँ पुग्दै गर्दा गगन थापा त्यहाँ पुग्न नहुने कुनै कारण नदेखेर सपोर्ट गरिएको हो ।
अर्थतन्त्रदेखि कूटनीति, शिक्षादेखि पूर्वाधार, एफडीआईदेखि ऊर्जा र कनेक्टिभिटीदेखि नेट जीरोसम्म उनले बर्सौंदेखि विज्ञको टीम नै बनाएर एक्शन प्लान तैयार गरेका छन् । रास्वपासँग विज्ञ छन्, अध्येता पनि छन् । केही नयाँ गर्ने हुटहुटी भएका कति हो कति छन् ।
तर सदनमा सत्ता र प्रतिपक्ष दुबैमा अध्येताहरू पुग्दा त सबैलाई फाइदै हुन्छ । सबै सीट रास्वपाले मात्रै भरिने त नहोला । तैपनि बटम लाइन के हो भने बीस वर्षमा तिमीले के गर्यौ त भनेर सोध्नुचाहिँ तपाईंहाम्रो हक र कर्तव्य दुबै हो । प्रश्नले नै मान्छेलाई जीवित, सान्दर्भिक र जिम्मेबार राख्ने हो । जिम्मेबारी, दायित्व र नैतिकतामा गरिने यस्ता प्रश्न र कटाक्षलाई चाहिँ सधैँ सम्मान गर्न पर्छ ।