काठमाडौं – सत्तारुढ गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सोमबार पनि बस्ने भएको छ ।
बैठक सोमबार बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धनका दलहरुबिच पालिकाहरुको भागबण्डा लगायतका विषयमा छलफल गर्न शीर्ष नेताहरुसहित संयन्त्रको बैठक बस्न लागेको हो ।
आइतबारको बैठकमा नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका लिने प्रस्ताव प्रस्तुत भएको थियो ।
आजको बैठकमा महानगर र उपमहानगरपालिकाहरु भागबण्डामा छलफल गरी निष्कर्षमा पुग्ने प्रयास हुने नेताहरुले बताएका छन् ।
महानगर र उपमहानगरसहितका महत्त्वपूर्ण स्थानमा उम्मेदवारको भागबण्डामा सत्ता गठबन्धनभित्र समस्या छ ।
उम्मेदवारको भागबण्डा तथा चुनावी तालमेलका सम्बन्धमा पाँच दलीय गठबन्धन भित्रका दलमा आन्तरिक रूपमा असन्तुष्टि उच्च बनेको छ ।
दलले आफ्ना तल्ला निकायलाई आ-आफ्नै तयारीमा लाग्न निर्देशन समेत दिन थालेका छन् । सत्ता गठबन्धनको चुनावी तालमेल जोखिममा परेका बेला बैठक बस्न लागेको हो ।