(एजेन्सी) – च्याम्पियनस लिग फुटबल अन्तर्गत मंगरबार राति भएको चेल्सी अजाक्स बीचको खेल बराबरी भएको छ । स्टामफोर्ड ब्रिज स्टेडियममा भएको समूह ए को खेलमा चेल्सीले अजाक्ससँग ४-४ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
कुल ८ गोल भएको खेलमा चेल्सी एक समय ४-१ ले पछाडी थियो । तर ९ खेलाडीमा सिमित पाहुना टोलीमाथि चेल्सीले बराबरीको नतिजा निकाल्न सफल भयो ।
खेल सुरु भएको दोस्रो मिनेटमा चेल्सीका टमी अब्राहम आत्मघाती गोल गरेपछि अजाक्सले १-० को अग्रता बनाएको थियो । तर, खेलको चौंथो मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै इटालियन स्टार जोर्गिनहोले गोल गर्दै टोलीलाई १-१ को बराबरीमा पुर्यायो ।
खेलको २० औं मिनेटमा क्विन्सी प्रमिसले गोल गर्दै आजाक्सलाई २-१ गेलको अग्रता दिलाउँदा चेल्सीका किपा एरिजबलागाले खेलको ३५ औं मिनेटमा आत्मघाती गोल गर्न पुगे । योसँगै पहिलो हाफमा आजाक्सले ३-१ गोलको अग्रता बाएको थियो ।
एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आजाक्सले खेलको ५५ औं मिनेटमा अर्को गोल थप्न सफल भयो । योपटक भने भान डी विकले गोल गर्दै आजाक्सलाई ४-१ गोलको फराकिलो अग्रता दिलाए ।
सेजर अजपिलिकुइताले खेलको खेलको ६३ औ मिनेटमा गोल गर्दै चेल्सीलाई ४-२ को स्थितिमा ल्याए । त्यसपछि पाहुना टोली अजाक्सले लगातार दुई रातो कार्ड खायो । डेले ब्लाइन्डले ६८ औ र जोइल भेल्टमेनले ६९ औ मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आजाक्स ९ खेलाडीमा सीमित भयो ।
त्यसपछि चेल्सीले दुई गोल थप्दै ४-४ गोलको बराबरीमा टुंग्याएको हो । खेलको ७१ औ मिनेटमा जोर्गिन्होले र ७४ औं मिनेटमा रिस जेम्सले गोल गरेका थिए । समूह एचको खेलमा दुवै टोलीले समान ७ अंक जोडेका छन् ।
गोल अन्तरका आधारमा अजाक्स पहिलो र चेल्सी दोस्रो स्थानमा छ । तेस्रो स्थानको स्पेनिस क्लब भ्यालेन्सियाको समेत ७ अंक छ ।