काठमाडौं – शिक्षा ऐन माग्दै १३ दिनदेखि सडकमा आन्दोलनरत शिक्षकले नयाँ वर्षको स्वागत पनि सडकबाटै गरे ।
अन्य दिनभन्दा सोमबार झन् ठुलो संख्यामा शिक्षकहरू भेला भएर माइतीघर, बबरमहल हुँदै बानेश्वरसम्म र्याली निकाले । उनिहरुले यस बर्षको चैते दशैं पर्वपनि सडकमै नाराबाजीकाबिच मनाएका थिए ।
देशभरका सामुदायिक विद्यालयमा स्थायी, राहत, निजी स्रोत, बालविकासलगायत शिक्षक र कर्मचारी गरी दुई लाख ३४ हजार १७६ जना छन् । तर, आलोपालो गर्दै ५०–६० हजार मात्रै सहभागी भएकाले आन्दोलनलाई थप चर्काउन महासंघले भएभरका शिक्षकलाई काठमाडौं आउन भनेको थियो ।
शिक्षकहरूले संसद्को विशेष अधिवेशन राखेर वा बर्खे अधिवेशन चाँडै बोलाएर वा अध्यादेशमार्फत ऐन ल्याउन माग गर्दै आएका छन् । तर, सरकारसँग प्रभावकारी छलफल हुनै सकेको छैन । पूर्वसर्तका आधारमा मात्रै वार्तामा बस्ने शिक्षकहरूको अडान छ ।
शिक्षक आन्दोलन नथामिए नयाँ शैक्षिक–सत्रको पठनपाठन मात्रै होइन, एसइईको उत्तरपुस्तिका परीक्षण नै प्रभावित हुने भएको छ । यस वर्ष सरकारले एसइईको परीक्षाफल ७ असारमा निकाल्ने घोषणा यसअघि नै गरिसकेको छ । तर, शिक्षकहरूले मंगलबारदेखि उत्तरपुस्तिका परीक्षण गरेनन् भने ७ असारमा रिजल्ट निकाल्न समस्या हुन सक्छ ।
परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले यस विषयमा शिक्षकहरूसँग समन्वय गर्ने बताए । त्यस्तै, अधिकांश सामुदायिक विद्यालयले नयाँ शैक्षिक सत्रको पठनपाठन ५ वैशाखदेखि गर्छन् । १ वैशाखदेखि ५ वैशाखसम्म भर्ना गर्छन् । तर, आन्दोलन लम्बिँदै जाँदा ०८२ को शैक्षिक क्यालेन्डर पनि बिग्रिँदै जान्छ ।