काठमाडौँ – सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौताराबाट काठमाडौँसम्म विद्युतीय गाडी सञ्चालनमा आएको छ ।
सिन्धु-चौतारा यातायातले चौसागढी-७ सानो सिरुवारी र चौसागढी-१ स्याउलेबाट विद्युतीय गाडी सञ्चालनको सुरुवात गरेको हो ।
चौताराका युवा व्यवसायी हिरोमणि श्रेष्ठ र निमेष श्रेष्ठले विद्युतीय गाडी सञ्चालनमा ल्याएका हुन् । पहिलो चरणमा १०/१० सिट यात्रु क्षमता भएको चार बसबाट सेवा सुरु गरिएको व्यवसायी निमेष श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार हाललाई चौतारा–काठमाडौँमा सञ्चालन भइरहेको अन्य माइक्रोबस सरह भाडादरमा यातायात सञ्चालन गर्ने र पूर्ण रुपमा सञ्चालनमा आएपछि भाडादर परिमार्जन गरिनेछ । यात्रुले पानी, वाइफाइ तथा क्युआर पेमेन्टको सुविधा पाउने उनले बताए ।
विद्युतीय गाडीमा आवाज र गन्ध नआउने भएकाले यात्रुले डिजेल गाडीको जस्तो घ्यारघ्यार र गन्धखप्नु नपरेको स्थानिय यात्रु रविन्द्र श्रेष्ठले बताए ।