काठमाडौं – नुवाकोटको बहुप्रतिक्षित छहरे-टोखा सुरुङमार्ग निर्माणस्थलको सोमबार संघिय सरकारका तीन जना मन्त्रीले एकैपटक अवलोकन गरेका छन्।
नुवाकोटको शिवपुरी गापा ७, ८ र टोखा नगरपालिकाको झोरमा निर्माण प्रस्तावित छहरे-टोखा सुरुङ्गमार्ग स्थलको निर्माण कार्यलाई अगाडि बढाउन संघीय सरकारका तीन जना मन्त्रीले एकैपटक आज अवलोकन गरेका हुन्।
छहरे-टोखा सुरुङमार्ग निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकनको कार्य अगाडि बढाउन अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र वनमन्त्री वीरेन्द्र यादवलगायतको टोलीले निर्माणस्थलको स्थलगत अवलोकन गरि स्थानीयवासीसँग अन्तर्क्रियासमेत गरेको शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्द थपलियाले बताए ।
उनका अनुसार सडकमार्ग हुँदै काठमाडौंबाट शिवपुरी गापा पुगेका तीनै जना मन्त्रीसहितको टोलीले दुई घण्टासम्म स्थलगत अध्ययन गरेको हो।
चार दशमलव तीन किलोमिटर दूरीको सो सुरुङमार्गको निर्माणपछि नुवाकोट, रसुवामात्रै नभई नेपाल र उत्तरी छिमेकी चीनको दूरी निकै छोटो हुनेछ। हालः काठमाडौंदेखि रसुवागढीसम्मको दूरी एकसय ५२ किलोमिटर रहेको छ।
अर्थमन्त्री डा. महतले केही दिनभित्रै वातावरणीय प्रभावका बारेमा प्रतिवेदन तयार हुने र सो प्रतिवेदन चीन सरकारलाई बुझाए लगत्तै काम सुरु गर्ने विषयमा चीन सरकारसंग प्रस्ताव गर्ने बताए।
छहरे-टोखा सुरुङमार्ग निर्माण का विषयमा चीन सरकार सकारात्मक रहेकोसमेत डा. महतको भनाइ छ । प्रधानमन्त्रीको चीन भ्रमणका समयमा चीन सरकारसँग नेपालले छहरे-टोखा सुरुङ मार्ग निर्माणलाई विशेष प्रस्तावका रुपमा राख्नेसमेत अर्थमन्त्री डा. महतले बताएको स्थानीय इन्दिरा थापाले जानकारी दिइन् ।
थापाका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणअघि नै वातावरणीय प्रभाव मूल्यांकन गर्ने उद्देश्यकासाथ सरकारका मन्त्री आफैं सुरुङ मार्ग निर्माणस्थलको अवलोकनका लागि पुगेका हुन्।