काठमाडौं – जनकपुरधामका सम्पूर्ण निजी विद्यालय अनिश्चितकालका लागि बन्द हुने भएका छन्।
विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने विषयमा उपमहानगरपालिकासँग विवाद हुँदा निजी विद्यालयका छाता संगठनहरू एन-प्याब्सन, प्याब्सन र हिसानले सोमबारदेखि अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने घोषणा गरेका हुन्।
कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने विषयमा निजी विद्यालय र उपमहानगरबीच विवाद उत्पन्न भएको हो।
छनोट भएका विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउनसम्बन्धमा उपमहानगरपालिका आफैँले गरेको परिपत्रलाई उल्टाएर पुनःपत्राचार गरेको विषयमा निजी विद्यालय विरोधमा उत्रिएका हुन्।
गत भदौ १४ गते उपमहानगरले छात्रवृत्ति कार्यविधि २०७४ को ५.२ (ङ) बमोजिम छात्रवृत्ति उपलब्ध गराउन परिपत्र गरेकोमा पुनः कात्तिक १४ गते फरक किसिमको निर्णय गरेर पत्राचार गरेको निजी विद्यालयको भनाइ छ।
कार्यविधि २०७४ को ५.२ (ङ) मा विद्यालयहरूले सिफारिस भएका विद्यार्थीहरूबाट भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्कबाहेक अन्य शुल्क लिनसक्ने व्यवस्था छ।
रजिस्ट्रेसन र परीक्षा शुल्कमात्र लिएर विद्यार्थीलाई पढाउन नसकिने भन्दै प्याब्सन, एनप्याब्सन र हिसानले संयुक्तरूपमा सोमबारदेखि निजी विद्यालयहरू बन्द गर्ने घोषणा गरेका हुन्।
उपमहानगरपालिकाले अर्को निर्णय नगरेसम्म उपमहानगरपालिकाभित्रका सम्पूर्ण संस्थागत विद्यालयहरू अनिश्चितकालका लागि बन्द रहने निजी विद्यालयका छाता संगठनले जनाएका छन्।