काठमाडौं – सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’मा बिदा दिइएकोप्रति सत्ता घटक दुई दलले असहमति जनाएका छन्।
सरकारको चौथो ठूलो दल राप्रपाका मन्त्रीहरुले आकस्मिक रुपमा बोलाइएको मन्त्रिपरिषद् बैठक नै बहिस्कार गरेर बिदाप्रति विरोध जनाएको हो भने एमालेले पनि त्यसप्रति असन्तुष्टि जनाएको छ।
एमाले र राप्रपाको विरोधसँगै जनयुद्ध दिवसमा बिदा दिने प्रकरणले प्रधानमन्त्री पुष्पकमल दाहाल एक्लै परेका छन्।
बैठकको कार्यसूची थाहा पाएपछि राप्रपाबाट सरकारमा सहभागी उर्जामन्त्री राजेन्द्र लिङ्देन, शहरी विकासमन्त्री विक्रम पाण्डे, कानुनमन्त्री धुव्रबहादुर प्रधान र राज्यमन्त्री दीपक सिंहले मन्त्रिरिषद्को बैठक नै बहिस्कार गरेका थिए।
राप्रपाले कुनै दल विशेषले सुरु गरेको हिंसात्मक आन्दोलनलाई समर्थन हुने गरी जनताका काम कारबाही नै रोकेर सार्वजनिक बिदा दिनु ठीक नभएको जनाएको छ।
आइतबार दिउँसो बोलाइएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।