काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विकसित मुलुकले नेपाललाई जलवायु परिवर्तनमा पुर्याएको क्षति न्यूनीकरणमा बागमती प्रदेश सरकार गम्भीर भएर लागिरहेको बताएका छन् ।
मेलम्ची नगरपालिकाद्धारा पर्यटकीय नगरी गुफा डाँडामा आयोजित पाँचौँ जलवायु दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले विकसित राष्ट्रले औधोगिककरणका बिकास क्रममा कार्बन उत्सर्जनले नेपाल जस्ता मुलुकलाई गम्भीर असर पुगेको बताएका हुन् ।
मेलम्ची नगरपालिका–९ स्थित २ हजार दुई सय ५० मिटर उचाइमा रहेको पर्यटकीय क्षेत्र गुफा डाँडालाई पर्यटकीय क्षेत्र बनाउन बागमती प्रदेश सरकार लाग्ने उनको भनाइ थियो ।
मेलम्ची नगरपालिकाले गुफा डाँडालाई जलवायु परिवर्तन अध्ययन केन्द्रमा विकास गर्नु पर्ने, विकसित राष्ट्रले उत्सर्जन गरेका कार्बनले नेपाललाई पुर्याएको असरको क्षतिपूर्ति पाउनु पर्ने, गुफा डाँडामा २०७५ सालबाट सुरु भएको जलवायु सम्मेलनको दिनलाई विश्व मान्यता दिइनु पर्नेमा नगरप्रमुख आइतमान तामाङले नेपाल सरकार, बागमती प्रदेश सरकार समक्ष प्रस्ताव पेस गर्ने निर्णय भएको बताए ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल, बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री निमा लामा लगायतले नेपाल र सिन्धुपाल्चोकमा जलवायु परिवर्तनका असरले बर्सेनि बिपदले जनधनको क्षति भइरहेको औँल्याएका थिए ।
कार्यक्रममा बागमती प्रदेश योजना आयोगका उपाध्यक्ष डा.गङ्गादत्त नेपालले जलवायु परिवर्तनले पुर्याएको असर र न्यूनीकरणका उपायका बिषयमा जलवायु परिवर्तन सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्थानिय जनप्रतिनिधी राजनितिक दलका प्रतिनिधी सरकारी कर्मचारी लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा स्काउट तथा बिद्यार्थीहरुले विभिन्न झाँकी लगायतका विभिन्न प्रस्तुति दिएका थिए ।