जसपाका सिटौलाले लिईन सांसद पदको शपथ

22

काठमाडौं – जनता समाजवादी पार्टीको रिक्त समानुपातिक तर्फको सिटमा लीला सिटौलाले आज पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बुधबार सिटौलालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

बुधबार सिंहदरवारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा एक कार्यक्रमबीच सभामुख सापकोटाले सांसद सिटौलालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

गत असार २३ गते जनता समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी र सांसद् पदबाट बर्खास्त गरेको थियो । गिरीले नेपालको भूभाग लिम्पियाधुरालाई अस्वीकार गर्दै नेपाल, भारत र चीनबीचको सम्बन्धमा खलल पुग्ने विवादास्पद अभिव्यक्ति दिँदै आएकी थिइन् ।

पार्टी ‘ह्विप’ नमानेका कारण पार्टीको संगठित सदस्य र सांसद पदबाटसमेत हटाइएकी सरिता गिरीको ठाउँमा सिटौला नियुक्त भएकी हुन् ।

आफूमाथिको कारबाही पार्टी विधानविपरीत भएको दाबी गर्दै उनी सर्वोच्च अदालत समेत पुगेकी थिइन् । तर, सर्वोच्चले गिरीका पक्षमा अन्तरिम आदेश दिन अश्वीकार गरेसँगै निर्वाचन आयोगले उनको ठाउँमा सिटौला निर्वाचित भएको पत्र संसद सचिवालयलाई पठाएको थियो ।

ललितपुर निवासी सिटौला पार्टीको खस महिला कोटाबाट सांसद बनेका हुन् ।

समाचार वर्गहरू