काठमाडौं – सर्वसाधारणले दिनहुँ उपभोग गर्ने पिउने पानीमा उद्योगीले ढल र दिसा–पिसाबमा पाइने कीटाणु मिश्रित पानीसमेत बेचेको पुष्टि भएको छ । काठमाडौं महानगरपालिकाअन्तर्गतको कृषि तथा पशुपन्छी विभागले विभिन्न ब्रान्डका पानी परीक्षण गर्दा यस्तो भेटिएको हो ।
विभागले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा पानीको गुणस्तर परीक्षणका क्रममा पानीमा फिकल कोलिफर्म र एमोनिया देखिएको हो ।
पानीमा कैफियत देखिएपछि ती ब्याचका पानी तत्काल बजारबाट फिर्ता लिनसमेत निर्देशन दिइएको महानगरले जनाएको छ । पानीमा देखिएको फिकल कोलिफर्म र एमोनियाबारे काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश राईले पनि पुष्टि गरे ।
महानगरपालिकाको आधिकारिक अनलाइन पोर्टल मेट्रो न्युजमा उल्लेख भएअनुसार प्रति १ सय मिलिलिटर नमुना परीक्षणमा कोलोनी फर्मिङ युनिट (सीएफयू) मापदण्डविपरीत देखिएको छ । सीएफयू सूक्ष्म जीवको अवस्था हेर्न प्रयोग गरिने युनिट हो ।
टोखामा रहेको पञ्चरत्न ग्रुप प्रालिको ब्राण्ड ‘फ्रेस ड्रप’ पानीमा फिकल कोलिफर्मको मान २३ सिएफयू देखिएको छ । कागेश्वरी मनोहरामा रहेको उत्तरवाहिनी फुड एन्ड बेभरेज प्रालिको उत्पादनमा पनि कोलिफर्मको मान ११६ सीएफयू देखिएको जनाइएको छ । गोकर्णेश्वरमा रहेको एक्वा सुन्दरी, कागेश्वरी मनोहरामा रहेको स्नो क्युब ड्रिंकिङ वाटर प्रालिको उत्पादनमा पनि कोलिफर्मको मात्रा अत्यधिक देखिएको हो ।
गोकर्णेश्वरको स्तूपा इन्डस्ट्रिज प्रालि, कपनको एमके मिनरल वाटर प्रालि, गोकर्णेश्वरकै कोशी मिनरल वाटर उद्योग प्रालि, टोखाको पिस स्प्रिङ वाटर प्रालि, टोखाकै अक्वा एसएनएस बेभरेज प्रालि, तार्केश्वरको जम्बुलिंगा ग्रुप इन्ड्रस्टिज प्रालिको उत्पादनमा कैफियत देखिएको विभागले बताएको छ । ‘उद्योगबाट उत्पादन गरी वितरण गरिएको पिउने पानीको जारको नमुना संकलन गरी परीक्षण गर्दा फिकल कोलिफर्म देखियो ।
विभागको कारबाहीमा परेका पानी उद्योग
- फ्रेस ड्रप (पञ्चरत्न ग्रुप प्रालि)
- एक्वा कोल्भाटेश्वर (उत्तरवाहिनी फुड एन्ड बेभरेज प्रालि)
- एक्वा डिबी (एक्वा सुन्दरी)
- एकुवा (स्नो क्युब ड्रिंकिङ वाटर प्रालि)
- क्युब (स्तूपा इन्डस्ट्रिज प्रालि)
- एक्वा माइल्ड (मुनलाइट स्प्रिङ वाटर इन्डस्ट्रिज)
- एक्वा कपन (एमके मिनरल वाटर प्रालि)
- एक्वा गौरीशंकर (कोशी मिनरल वाटर उद्योग प्रालि)
- एक्वा पिस (पिस स्प्रिङ वाटर प्रालि)
- एक्वा टोखा (अक्वा एसएनएस बेभरेज प्रालि)
- एक्वा त्रिदेव (जम्बुलिंगा ग्रुप इन्ड्रस्टिज प्रालि)