(धनगढी) – सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको संक्रमण बारे परीक्षणका लागि प्रदेशका विभिन्न ३ जिल्लामा प्रयोगशाला स्थापना गर्ने भएको छ ।
शनिबार बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषदको बैठकले धनगढी, बैतडी र डोटीमा कोरोना संक्रमण परीक्षणका लागि प्रयषेगशाला स्थापना गर्ने निर्णय गरेको हो । बैठकले कोरोनाका सम्भावित बिरामीको नमूना परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल, बैतडी र डोटीका जिल्ला अस्पतालमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले बताए ।
सेती प्रादेशिक अस्पताललाई कोरोना रोगको उपचारका लागि केन्द्रित अस्पतालका रुपमा तोक्ने निर्णय बैठकले गरेको छ । यस्तै, प्रदेश सरकारले कोरोना संक्रमणको जोखिम नियन्त्रण उपचार तथा व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ ।
सो कोषमा प्रदेश सरकारले ४० करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । सो कोषमा योगदान गर्न सर्वसाधारण तथा संघ–संस्थाहरुलाई अनुरोध गर्ने निर्णय भएको मन्त्री शाहले बताए ।