काठमाडौं – बौकी देवी सदा ७० वर्ष पुगिन्। मुसहर समुदायकी बौकालाई उमेर छँदा नागरिकताको खाँचो परेन। त्यस बेला नागरिकताबारे जानकारी पनि थिएन। तर, जीवनको उत्तराद्र्धमा भने उनलाई नागरिकता अत्यावश्यक भयो। मोबाइलको सिम किन्न होस् कि, सानोतिनो सरकारी राहत पाउन होस्, उनीसँग नागरिकता माग्न थालियो। पटक–पटक नागरिकता बनाउन प्रयास त गरिन्, तर प्रशासनले अनेक कागजात माग्न थाल्यो। ‘बितिसकेका बुवाआमाको’ नागरिकता पेस गर्न नसक्दा बौकी ‘अनागरिक’ बनेकी छिन्।
बौकीको जन्म जनकपुरधामस्थित लोहनामा भएको हो। उनका बुवा, बाजेहरू पुस्तौंदेखि जनकपुरमा बस्दै आएका थिए। १५ वर्षकै उमेरमा जनकपुरकै मुजेलियास्थित मुसहर टोलका लालधारी सदासँग उनको विवाह भयो। अशिक्षित परिवारकी बौकीलाई त्यस बेला नागरिकता के हो ? भन्ने पनि थाहा थिएन्। माइतीमा पनि कसैले नागरिकता बनाइदिनुपर्छ भनेर पहल गरिदिएनन्। तर, उमेर ढल्किँदै गएपछि नागरिकता अपरिहार्य जस्तै बन्यो। त्यसैकारण बौकीले पतिलाई नागरिकता बनाइदिन आग्रह गरिन्। उनका पतिले सबै कागजपत्र जम्मा गरे, आफ्नो वंशजको नागरिकतासहित सिफारिस लिन वडा कार्यालय पुगे। तर, त्यहाँ बौकीको बुवाआमाको नागरिकता खोजियो।
जबकि, बौकीको बिहे भएको चार÷पाँच वर्षमै बुवा बितेका थिए। आमा पनि बितिसकिन्। उनीहरूको नागरिकता कहाँ छ बौकीलाई थाहा छैन। वडाअध्यक्षले बुवाआमाको नागरिकता नभएको तर, मृत्युदर्ताको प्रमाणपत्र बनाइ दिएर जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरिदिए। सीडीओ कार्यालयले बुवाआमाको नागरिकताबिना नागरिकता दिन नमिल्ने अडान लियो। ७० वर्षको उमेरमा पनि बौकीले नागरिकता पाइनन्। ‘बितिसकेका बाउ आमालाई कहाँबाट ल्याउने ?’ बौकीले दुःखेसो पोखिन– त्यस बेला नागरिकता के हो ? किन चाहिन्छ भनेर थाहै थिएन्। बाउआमाको पनि नागरिकता थियो कि थिएन् त्यो पनि थाहा छैन। कहाँबाट हुँदै नभएका कागज ल्याउने त? अब त थाक्यौ, भैगो, अब यो जिन्दगीमा अनागरिक बनेरै बसौला।’
कागजी प्रमाण नपुग्दा नागरिकतामा रोक
मधेसमा सबैभन्दा बढी अशिक्षित, विपन्न र राज्यको पहुँचभन्दा बाहिर छ–मुसहर समुदाय। यो समुदायका महिलालाई नागरिकता बनाउन धौ–धौ छ। किनभने, प्रशासनले माग्ने गरेका प्रमाणहरू जुटाउन सक्दैनन्। घरपरिवारका अरू नागरिक बने पनि महिलालाई माइतीको कागजात माग्ने गरिन्छ। त्यसैलाई आधार मानेर प्रशासनले नागरिकता दिन मान्दैन।
मुसहर टोलकै ६० वर्षीया शिवशक्ति सदासँग पनि नागरिकता छैन। पति रामप्रित सदाको पनि नागरिकता बनेको छैन। रामप्रितकी आमा स्वर्गीय तुलपी देवी सदाको नागरिकता भने शिवशक्तिसँग छ। सोही आधारमा उनीहरूले रामप्रितको नागरिकता बनाउन पटक–पटक प्रयास गरे। तर, वडा कार्यालयले बुवाको नागरिकता माग्यो। जुन उनीहरूसँग छैन। ‘मेरा बुवाआमा उहिले बितिसक्नुभयो,’ शिवशक्तिले भनिन्, ‘त्यत्तिबेला हामीलाई थाहै थिएन्। कुनै कागजपत्र जोहो गरिएन्। नागरिकता टोली आएको बेला पनि ध्यान पु¥याइएन। मेरो ससुराको पनि नागरिकता छैन, सासूले कताबाट बनाएकी रहेछिन्। अहिले त उनी बितेको पनि वर्षौ भइसक्यो। अब कुनै कागजनै नभएपछि हामी दुवैजना यो बुढेसकालसम्म पनि अनागरिक छौं।’
शिवशक्ति र उनका पतिको नागरिकता नभएपछि छोराहरू अरुण र सुनिलको जन्मदर्ता समेत बनेन। शिवशक्तिका छोराहरू हुर्किसके। ठूलो सवारी साधन चलाउने सीप सिकेका छन्। तर, नागरिकता नभएपछि चालक लाइसेन्स बनाउन पाएका छैनन्। ‘नागरिकतानै छैन अनि कहाँबाट लाइसेन्स निकाल्ने?’ उनका दुवै छोरा भन्छन्, ‘कहीँ काम माग्न गयो भने कागजै खोज्छन्। त्यसैले मजबुरीमा थोरै पारि श्रमिकमा लुकिछिपी गाउँघरमै ट्र्याक्टरहरू चलाएर गुजारा गर्नुपरेको छ।’
१ हजार ५ सय घूस नदिँदा नागरिकता पाइएन
५५ वर्षीया पानो सदाले ६ वर्ष अगाडि नागरिकता बनाउन प्रयास गरेका थिइन्। त्यस बेला उनका पतिले सीडीयो कार्यालयमा नागरिकताका लागि आवश्यक कागज बुझाएका थिए। तर, प्रशासनका कर्मचारीहरूले १ हजार ५ सय रुपैयाँ घूस मागे। पानोका पति पुरना सदाले घूस रकमको जोहो गर्न सकेनन्। अनि, पानोको नागरिकता बनेन। उनका श्रीमान् पनि बितिसकेका छन्। ‘घरमा कमाउने कोही छैन,’ पानोले भनिन्, ‘बुढा पनि बिते। नागरिकता भएको भए वृद्धभत्ता पाईन्थ्यो होला। तर, त्यो पनि छैन। चुनावका बेला भोट माग्न आउने सबै नेतालाई मेरो नागरिकता बनाईदिन हात जोडेर गुहार गर्छु, तर, कसैले सुन्दैनन्।’
५० वर्ष कटिसकेकी सुमित्रा सदाको परिवारका सबैको नागरिकता बनेको छ तर, उनको छैन। उनका बुवाआमाको नागरिकता नपाइएको भन्दै सीडीओ कार्यालयले नागरिकता नदिएको सुमित्रा बताउँछिन्।
बुवाआमाको नागरिकता नभएकै कारण मुसहर समुदायका अधिकांश महिला र तिनका सन्तानले जन्मदर्ता समेत बनाउन सकेका छैनन्।
प्रशासनको झेल
प्रशासनले माग्ने कागजात पु¥याउन नसक्दा मुसहर समुदाय नागरिकताबाट वञ्चित बनिरहेको जनकपुर–१४ का वडाध्यक्ष पुण्यप्रसाद यादव बताउँछन्। ‘मुसहर समुदायलाई नागरिकताको महत्वका बारेमा पहिले थाहै थिएन’ वडाध्यक्ष यादव भन्छन्, ‘त्यसकारण धेरैजसोले नागरिकता लिएनन्। उनीहरूले विवाहदर्ता, जन्मदर्ता वा बसाइँसराइ लगायतका कागजातहरू पनि खासै लिँदैनन् तर, अहिले आएर सबै क्षेत्रमा नागरिकता आवश्यक भएपछि मुसहर समुदायका व्यक्तिहरू पनि नागरिकता लिन अग्रसर भएका छन् तर, उनीहरूसँग कागजपत्र भने पुगेको हुँदैन अनि समस्या आउँछ।’ मुसहर समुदायका महिलाको विवाह बाल्यकालमै हुने गर्छ। अधिकांश अशिक्षित हुन्छन्। अधिकांशका बुवाआमाले पनि नागरिकता बनाएका हुँदैनन्। ‘नागरिकताको सिफारिस गर्न आउँदा सबै कुरा प्रस्ट्याएर कानुनबमोजिम सीडीओ कार्यालयमा सिफारिस पठाएका हुन्छौं,’ वडाध्यक्ष यादव भन्छन्, ‘तर, त्यहाँ कर्मचारीहरूले विभिन्न कागजपत्र खोजेर दिक्क बनाउँछन्। नागरिकता दिँदैन्न। पटक–पटक सीडीओ कार्यालयमा कुरा राखेको छु तर, सुनवाइ नै हुँदैन।’
प्रक्रिया पूरा गरे, एक घण्टामै नागरिकता
धनुषाका सीडीयो रामुराज कडरिया मुसहर समुदायका महिला नागरिकताबाट वञ्चित भएको विषयमा अनविज्ञता व्यक्त गर्छन्। ‘म यहाँ आएको एक वर्ष भइसक्यो तर, यस्तो खालको कुनै नागरिकतासम्बन्धी समस्याको गुनासो म कहाँ आएकै छैन्,’ उनी भन्छन्, ‘हामी कहाँ कागजपत्र दुरुस्त भएर आयो भने एक घण्टामा नागरिकता बनाएर दिने गर्छौं। मुसहर बस्तीका महिलाको समस्या छ भने कुरा राख्दा हुन्छ, हामी सक्दो सहयोग गर्नेछौं।’ तर, मुसहर समुदायका महिलालाई भने सीडीओसम्म पुग्न सहज छैन। अर्कोतर्फ अधिकांशको समस्या भनेकै कागजपत्र सबै नहुनु हो। यस्तोमा मुसहर महिलाहरूलाई अलि सहज गरेर भए पनि नागरिकता उपलब्ध गराइदिनुपर्ने धारणा राख्छन्–दलित अधिकारकर्मी तथा शिक्षक सञ्जीव दास। ‘सबै कागजात दुरुस्त भएको भए उनीहरू किन नागरिकताबाट वञ्चित हुनु पर्थ्यो त ? ’ उनी भन्छन्, ‘जति खेर चाह्यो, त्यतिखेर बन्थ्यो। त्यही नभएर समस्या हो नि ! मुसहर महिला र त्यसमा पनि जेष्ठ नागरिकलाई बुवाआमाको नागरिकता नभएको आधारमा नागरिकताबाट वञ्चित गरेर राख्नु हुंदैन। वैकल्पिक बाटो अपनाउनु राम्रो हुन्थ्यो होला।’
नागरिकता नहुँदाको पीडा
नागरिकताले व्यक्तिलाई पहिचानसहित आफ्ना व्यक्तिगत, व्यावसायिक र राजनीतिक अधिकारको उपभोग गर्ने आधार तयार गर्छ। चुनावमा मत हाल्न, बैंकमा खाता खोल्न, घर जमिनको स्वामित्व राख्न, औपचारिक कानुनी रूपमा पेसा व्यवसाय गर्न, मोबाईलको सिम किन्न, राहदानी बनाउन र कुनै पनि सामाजिक, सामुदायिक वा राजनीतिक समूहको सदस्य बन्नेसम्मका क्रियाकलापहरूका लागि नागरिकता अनिवार्य हुन्छ। तर, मुसहर समुदायका कतिपय महिलाहरू यी सबै अधिकारबाट वञ्चित छन्। नागरिकताको अभावमा उनीहरूले राज्यबाट पाउन सक्ने सबै सेवासुविधाबाट बञ्चित छन्। अन्नपुर्णपोष्ट दैनिक