एजेन्सी – अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो कार्यकालको पहिलो १०० दिनमा १० करोड नागरिकलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाउने बताएका छन् ।
उनले आफ्नो कार्यकालका सुरुवाती महिनामा महामारी अन्त्य नहुने तर आफूले त्यसबीचमा कोभिड-१९ को बाटो भने मोड्ने बताए ।
मंगलबार डेलावरमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्रीको नाम सार्वजनिक गर्दै बाइडनले अमेरिकीलाई ‘१०० दिनसम्म मास्क लगाउन’ आग्रह समेत गरेका थिए ।
मंगलबार नै अमेरिकी नियामकले फाइजर/बायोएनटेकको खोप ९५ प्रतिसतसम्म प्रभावकारी रहेको पुष्टि गरेको छ । त्यसले अब उक्त खोप आपत्कालिन प्रयोगका लागि स्वीकृति दिन सकिने बाटो खोलेको छ ।
राष्ट्रपति बाइडेनले स्वास्थ्यमन्त्रीको रुपमा क्यालिफोर्नियाका महान्यायाधिवक्ता जेभियर बेकेरा तथा रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को प्रमुखमा रोचेल वालेन्स्कीलाई चयन गरेका छन् ।