(झापा) – झापामा नेपालको सबैभन्दा ठूलो औद्योगिक पार्क बन्ने भएको छ । पार्क बन्न लागेकोमा स्थानीय जनता उत्साहित भएका छन् । झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको १६ सय हेक्टर (२२ सय बिगाहा) क्षेत्रफलमा नेपालको सबैभन्दा ठूलो आद्योगिक पार्क बन्न लागेको हो ।
औद्योगिक पार्क बन्न लागेको क्षेत्रमा लगानी बोर्डको नेतृत्वमा विशेष निरीक्षण कार्य भएको छ । लगानी बोर्डका सीइओ महाप्रसाद अधिकारीको नेतृत्वमा गएको टोलीले पार्क बन्न लागेको क्षेत्रको जग्गा निरीक्षण गरेको हो । निरीक्षण टोलीमा नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत, चीन–नेपाल मैत्री औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापा लगायत सहभागी थिए ।
निरीक्षण टोलीले स्थानीयसँग भेटघाट तथा अन्र्तक्रिया गरेको छ । अन्र्तक्रियामा नेपाली कांग्रेसका नेता पदम सेढाईले औद्योगिक पार्कमा आफ्नो पाँच विगाहा भन्दा धेरै जग्गा परेको बताउँदै देशका लागि र आफ्ना सन्ततिका लागि जग्गा अर्पण गरेको बताए ।
उनले औद्योगिक पार्क निर्माणमा झापाका जनता एकजुट भएको भन्दै विकासमा राजनीति नगर्न आग्रह गरे । निरीक्षण टोलीसँग स्थानीय जगन धिमालले आफ्ना पुर्खाले पसिना बगाएको जमिन औद्योगिक पार्क निर्माणका लागि छाड्नुपर्दा अलिकति पनि दुख नलागेको बताए ।
आफ्ना पुर्खाले पसिना बगाएको जमिनमा देश, जनता र आफ्ना सन्ततिको भाग्य र भविष्य फेर्ने औद्योगिक पार्क बन्न लागेकोमा गर्व लागेको बताए । औद्योगिक पार्क बनेपछि आफ्ना पुर्खाको आत्मालाई पनि सन्तोष हुने विचार उनले राखे ।
सो टोलीले निरीक्षण अनुगमन कार्यको क्रममा स्थानीयले औद्योगिक पार्क चाँडो भन्दा चाँडो थालिनुपर्ने र पार्कमा उद्योगहरु स्थापना हुनुपर्ने विचार राखेका थिए ।
सो औद्योगिक पार्क चीन सरकारको सहयोगमा बन्न लागेको हो । चीन सरकारको बेल्ट एण्ड रोड परियोजना अन्तर्गत नेपालमा हुन लागेको यो पहिलो विकास निर्माण कार्य हो ।