सुख्खा पहिरोले कर्णाली थुनियो, प्रहरी चौकी र वडा कार्यालय जोखिममा

6
फाइल फोटो

बाजुरा – बाजुराको स्वामीकार्त्तिक खापर गाउँपालिका-१ मा रहेको झुगलापाटा भिर फुटेर कर्णाली नदी थुनिएको छ । जगन्नाथ गाउँपालिकाको कार्यालय जुड्डीपारी पट्टि रहेको भिर फुटेर सुख्खा पहिरो जाँदा कर्णाली नदी थुनिएको हो।

झुगलापाटा भिर फुट्दा स्वामीकार्त्तिक खापर गाउँपालिका वडा नं एक रुडी गाउँ, जगन्नाथ गाउँपालिकाको कार्यालय, जुड्डी प्रहरी चौकीलगायतका आसपासका क्षेत्र उच्च जोखिममा परेका बताइएको छ । दुई महिनायताको लगातार सुख्खा पहिरोले कर्णाली नदी थुनिन थालेसँगै नदी आसपास क्षेत्रमा बसोबास गरिरहेका स्थानीयलाई समस्या भएको बताइएको छ ।

कर्णाली प्रदेशको हुम्ला, मुगुसँगै बाजुरा हुँदै बग्ने कर्णाली नदीमा सुख्खा पहिरो खस्दा नदीको पानी थुनिएपछि वरपरका बस्ती समस्यामा परेका हुन् ।

स्वामीकार्त्तिक खापर गाउँपालिका वडा नं एकको रुडि गाउँको तल र छुद्यदरी गाउँको नजिकै सुख्खा पहिरो खस्दा कर्णालीको केही भाग थुनिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

योसँगै जगन्नाथ गाउँपालिका र जुड्डी प्रहरी चौकी पनि जोखिममा परेको भन्दै कार्यालयका सामान अन्यन्त्र सार्न थालेको जुड्डी प्रहरी चौकीले जनाएको छ ।

समाचार वर्गहरू