इस्तानबुल – टर्कीमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा ४ जनाको मृत्यु भएकाे छ । करिब १ सय २० जना घाइते भएकाे बीबीसीले उल्लेख गरेको छ ।
भूकम्पले टर्कीको इज्मिर शहर आसपासको क्षेत्रका भवनहरूमा क्षति पुर्याएको छ । स्थानीय अधिकारीहरूका अनुसार २० वटा घर भत्केका छन् । मानिसहरू पुरिएको हुन सक्ने आशङ्कामा उद्धारकर्ताहरूले खोजी कार्य गरिरहेका छन् ।
अहिलेसम्म चार जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको विवरण प्राप्त भएका छन् । अमेरिकी भूगर्भ निकायका अनुसार ७ म्याग्निट्युडको भूकम्पको धक्का धेरै टाढा एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको थियो । भूकम्पका कारण सुनामी पनि आइसकेको टर्कीका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
सन् १९९९ मा टर्कीकाे उत्तरपश्चिमी भूभागमा ७.४ म्याग्नेच्युडकाे भूकम्प जाँदा १७ हजार मानिसको मृत्यु भएको थियो । यस्तै सन् २०११ मा भानकाे दक्षिणपूर्वी क्षेत्रमा भूकम्प जाँदा ६ सय भन्दा बढीकाे मृत्यु भएकाे थियाे ।
ग्रिसमा भने पछिल्लाे समय सन् २०१७ काे जुलाईमा सामाेस नजिक काेस द्वीपमा शक्तिशाली भूकम्प जाँदा २ जनाकाे मृत्यु भएकाे थियाे ।