टर्कीले आन्तरिक मामिलामा दखल दिएको भन्दै भारतको आपत्ति

23

काठमाडौं – टर्कीले संयुक्त राष्ट्रसंघमा जम्मु–कश्मीरको मुद्दा उठाएर आन्तरिक मामिलामा दखल दिएको भन्दै भारतले कडा आपत्ति जनाएको छ ।

टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले एक पटक फेरि कश्मीरको मुद्दालाई संयुक्त राष्ट्र संघमा उठाएका थिए । एकदिन अगाडि पनि पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले संयुक्त राष्ट्रसंघमा जम्मु–कश्मीरको मुद्दा उठाएका थिए ।

संयुक्त राष्ट्रसंघको ७५ औं वर्षगाँठको अवसरमा आयोजित बैठकलाई भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै टर्कीका राष्ट्रपति अर्दोआनले दक्षिण एसियामा शान्ति र स्थीरताका लागि जम्मु–कश्मीर मुद्दा सुल्झाउनु पर्ने बताए । भारतले जम्मु–कश्मीरको विशेष राज्यको दर्जा खोसेकाले स्थिति जटिल बनेको उनले बताए ।

संयुक्त राष्ट्रसंघको सभालाई सम्बोधन गर्दै अर्दोआनले भने, “कश्मीर संघर्ष दक्षिण एसियामा शान्ति र स्थायित्वका लागि धेरै महत्त्वपूर्ण छ । यो अझै ज्वलन्त मुद्दा हो । जम्मू कश्मीरको विशेष स्थिति समाप्त भएपछि अवस्था झनै जटिल भएको छ ।”

अर्दोआनको यो टिप्पणीप्रति भारतले कडा आपत्ति जनाएको छ । संयुक्त राष्ट्र संघका भारतका प्रतिनिधि टीएस त्रिमूर्तिले भनेका छन, “हामीले राष्ट्रपति अर्दोआनले भारतको केन्द्र शासित प्रदेश, जम्मू र काश्मीरका टिप्पणीहरूलाई हेरेका छौं । यो भारतको आन्तरिक मामिलामा हस्तक्षेप हो र यो भारतको लागि पूर्ण रूपमा अस्वीकार्य छ । टर्कीले अर्को देशको सार्वभौमिकताको सम्मान गर्न सिक्नुपर्दछ ।”

टर्कीका राष्ट्रपतिले जम्मु–कश्मीर मुद्दा सुल्झाउनु पर्ने कुरा भिडियो सन्देश मार्फत भनेका थिए ।  भारतले गत वर्ष अगष्टमा जम्मु–कश्मीरको विशेष राज्यको दर्जा खोसेको थियो र पूरै राज्यलाई दुई केन्द्रशासित प्रदेशमा विभाजन गरेको थियो ।

टर्कीका विदेश मन्त्रालयका प्रवक्ताले पनि काश्मिरको बारेमा यस्तै टिप्पणी गरेका थिए । तब भारतले यसलाई अनुपयुक्त भनेको थियो ।
यस वर्षको फेब्रुअरीमा टर्कीका राष्ट्रपति अर्डोआनले पाकिस्तानको भ्रमण गरेका थिए र पाकिस्तानी संसदलाई सम्बोधन गर्दै उनले भने, “कश्मीरको मुद्दा टर्कीका जनताका लागि पनि त्यत्तिकै महत्त्वपूर्ण छ जस्तो कि यो पाकिस्तानीहरूका लागि हो ।”

अर्डोआनले मंगलबार संयुक्त राष्ट्र महासभामा भने, “हामी कश्मीर मुद्दाको समाधान संवाद, राष्ट्रसंघको प्रस्ताव र काश्मिरका जनताको आशाका आधारमा मुद्दाको सुल्झाउने पक्षमा छौं ।”

समाचार वर्गहरू