काठमाडौं – ओमानमा जारी टि–२० क्रिकेट सिरिजको आफ्नो पहिलो खेलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । ५ राष्ट्र सहभागी प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले चिरप्रतिद्धन्दी हङकङसँग खेल्न लागेको हो । हङकङको भने यो दोस्रो खेल हो ।
आयोजक राष्ट्र ओमान सँग हिजो भएको पहिलो खेलमा ७ विकेटको हार बेहोरेको हङकङका लागि आजको खेल महत्वपूर्ण छ । ओमानको एमिरातस्थित क्रिकेट मैदानमा नेपाली समयानुसार अपरान्ह सवा ३ बजे खेल सुरु हुनेछ ।
नेपाल पहिलो खेलबाटै प्रतियोगितामा आफ्नो प्रभाव देखाउन चाहन्छ । सिरिजमा सबै भन्दा माथिल्लो वरियतामा रहेको नेपाल परिचित प्रतिद्धन्दी विरुद्ध सहज जितको अपेक्षामा रहेको छ ।
सिंगापुरले आयोजना गरेको जिम्बावे समेत सहभागी टी–२० सिरिज खेलेर नेपाली टोली ओमान पुगेको हो । सोही मैदानमा बिहान सवा ११ बजे ओमानले आयरल्याण्डको सामना गर्नेछ ।
हिजोबाट सुरु भएको सिरिजको पहिलो खेलमा ओमान र आयरल्याण्डले विजयी सुरुवात गरेका हुन् । आयरल्याण्डले नेदरल्याण्डलाई ६ तथा ओमानले हङकङलाई ७ विकेटले पराजित गरेका हुन् ।