काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई फोन गरेर बजेटमा राखेको ‘टेक एण्ड पे’ को व्यवस्था नहटाए बजेट पारित हुन नसक्ने चेतावनी दिएका छन् ।
सोमबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनको आफ्नै कार्यकक्षबाट देउवाले अर्थमन्त्री पौडेललाई फोन गरेका हुन् । सो फोनमार्फत उनले ‘टेक एण्ड पे’ को व्यवस्था नहटाए बजेट पारित हुन समस्या हुने अर्थमन्त्रीलाई बताएको एक सांसदले जानकारी दिए ।
उक्त फोन संवादमा देउवाको भनाइ उद्धृत गर्दै एक सांसदले भने,‘तपाईको पार्टी जस्तो कांग्रेस होइन । कांग्रेसका सांसदहरुलाई मैले थेग्न सक्दिनँ । अस्ति देखि भनिरहेको छु । पहिलेकै व्यवस्था राख्नुस् । नत्र बजेट पारित हुन्न ।’
‘टेक एण्ड पे’ मा पुरानै व्यवस्था कायम नगरे कांग्रेस एमाले सरकारमा संकट आउने चेतावनी देउवाले दिएको उनले सुनाए । बजेटमा नदी प्रवाहमा आधारित रहेर सरकारले विद्युत् खरिद गर्ने व्यवस्था राखिएपछि उर्जा उत्पादकहरुले विरोध गरेका छन् ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट संघिय संसदको बैठकबाट मंगलबार पारित गर्ने तयारी गरिएको छ ।