काठमाडौँ – नेपाल ट्रेड युनियन कांग्रेसको वार्षिक राष्ट्रिय परिषद् फागुन २१ र २२ गते हुने भएको छ ।
भक्तपुरमा हुने परिषद्को उद्घाटन समारोहलाई नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवा, नेता डा. शेखर कोइराला, महामन्त्री गगन कुमार थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिको उपाध्यक्ष तथा प्रचार प्रसार बिभागका संयोजक राधिका कुइंकेल खनालले बताइन् ।
खनालका अनुसार परिषद्को बन्द सत्रमा देशभरिका ४०० भन्दा बढी पार्षदहरुको सहभागिता रहने छ । परिषद्ले संगठन विस्तार, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन, श्रम ऐन संशोधन र प्रभावकारी कार्यान्वयन, श्रमिक पञ्जिकरण, न्यूनतम पारिश्रमिक लागू, मर्यादित रोजगारी सिर्जना, जलवायु परिवर्तनले श्रम क्षेत्रमा पारेको प्रभाव, सामाजिक संवाद, आधिकारिक ट्रेड युनियनको निर्वाचन, आईएलओ महासन्धिहरुको अनुमोदन, सुरक्षित कार्यस्थल र ट्रेड युनियन अधिकारको ग्यारेन्टी लगायतका विषयहरूमा बृहत् छलफल गरी सशक्त ट्रेड युनियन आन्दोलनको कार्यदिशा निर्माण गर्ने विश्वास लिएको छ ।
परिषद् सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरी काम अगाडि बढिरहेकोले तयारी अन्तिम चरणमा पुगेको परिषद् तयारी समितिका संयोजक एवं वरिष्ठ उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले जानकारी दिए ।