काठमाडौं – एनजीओ, आइएनजीओको प्रमुख हुँ भनि ठगी गर्ने एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपालचोक घर भई गोकर्णेश्वर नगरपालिका–८ आरूबारी बस्ने घनश्याम कटुवाल रहेका छन् ।
ठगी आरोपमा उनलाई महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार दिउँसो ३ बजे चुच्चेपाटीबाट पक्राउ गरेको हो । उनले टोखा नगरपालिका–३ आगमन टोलका हिरामाया तामाङलाई २० लाख रुपैयाँ ठगेका थिए ।
तामाङलाई ग्रामीण विकास परियोजना अनामनगरमा ५ करोडको ठेक्का परेको र ५० प्रतिशतको पार्टनरसिप बनाउँछु भनी ठगी गरेको महाशाखाले जनाएको छ ।
महाशाखाले थप कारबाहीको लागि कटुवाललाई महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार कटुवालले चार जना भन्दा बढीलाई ठगेका छन् ।
काठमाडौं महानगरपालिका–७ बस्ने नवीन खड्कीलाई खाद्यान्न आपूर्ति सम्बन्धमा कोटेसन गर्ने भनी २३ लाख ठगेको र टोखा नगरपालिका–३ सरस्वती टोल बस्ने हरि कृष्ण श्रेष्ठसँग दुइटा प्राइभेट गाडी लगी बेपत्ता बनाएका थिए ।
त्यस्तै कपन बस्ने हरिहर खनाललाई अफिसको लागि कम्प्युटर, ल्यापटप चाहियो भनी ७ लाख ३५ हजार ठगी गरेको महाशाखाले जनाएको थियो ।