ठगी गरेको अभियोगमा काठमाडौंबाट ५ जना पक्राउ

47

काठमाडौं – काठमाडौं महानगरपालिका ताहाचल बस्ने एक व्यक्तिलाई सुन जस्तो देखिने १ किलो पहेलो धातु सक्कली सुन हो भन्दै ५५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ बस्ने काभ्रे भुम्लु गाउँपालिका-५ घर भएका ३२ वर्षीय सन्त बहादुर लामा, तार्केश्वर नगरपालिका-५ शान्तिटोल बस्नेहरु नुवाकोट किस्पाङ गाउँपालिका-१ नुजेत घर भएका ४५ वर्षीय ऋषमान घले, किसपाङ गाउँपालिका-१ घर भएका जित भन्ने ३५ वर्षीय मेख तामाङ रहेका छन् ।

यस्तै, किसपाङ्ग गाउँपालिका-१ घर भएका चन्द्र भन्ने २० वर्षीय जेरि तामाङ र काठमाडौं महानगरपालिका ताहाचल बस्ने झापा अनारमनि-१ बिर्तामोड घर भएका पप्पु भन्ने ५३ वर्षीय अभय कुमार चौधरी रहेका छन् ।

यही माघ ११ गते उक्त सुन जस्तो देखिने १ किलो पहेलो धातु सक्कली सुन हो भन्दै उक्त रुपैयाँ ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

समाचार वर्गहरू