डुईङ बिजनेस इन्डेक्समा नेपालको उल्लेख्य सुधार

15

(काठमाडौं) – व्यवसायिक वातावरणको सूचकांंक डुईङ बिजनेस इन्डेक्समा नेपालले उल्लेख्य सुधार गरेको छ । अघिल्लो वर्षको तुलनामा नेपाल १६ स्थानले माथि उक्लिएको हो । १ सय ९० मुलुकहरु मध्ये गत वर्ष १ सय १० औं स्थानमा रहेको नेपाल यो पटक ९४ औ स्थानमा आईपुगेको छ ।

व्यवसायसँग सम्बन्धित विभिन्न १० विषयहरुको अध्ययन मार्फत व्यवसायिक वातावरणहरुबारे अध्ययन गरी विश्व बैंकले हरेक वर्ष देशहरुको सूचकांक सार्वजनिक गर्ने गरेको छ । उसको प्रतिवेदन अनुसार नेपालले यस वर्ष ६३ दशमलव २ अंक प्राप्त गरेको छ । गत वर्ष नेपालको ५९ दशमलव ६ अंक प्राप्त गरेको थियो ।

नेपालले विशेष गरी वस्तु आयात र निर्यात प्रक्रियामा लाग्ने समयमा उल्लेख्य सुधार गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । सामाजिक सुरक्षाका लागि कामदारको अनलाईन रजिष्ट्रेशन गर्नुपर्ने बाध्यताले भने केही समस्या देखिएको जनाइएको छ । नेपालसहित दक्षिण एसियाका बंगलादेश, भारत र पाकिस्तानले व्यवसाय थालनी, निर्माण र सीमापार व्यापारका क्षेत्रमा सुधार गरेको विश्व बैंकले जनाएको छ ।

यद्यपि, विश्व बैंकले २ महिना अघि सार्वजनिक गरेको अर्को एक प्रतिवेदन अनुसार व्यवसायिक वातावरणमा सुधार गर्ने २० मुलुकहरुको सूचीमा भने नेपाल छैन । १६ स्थान माथि उक्लिए पनि नेपालमा अझै व्यवसाय गर्ने झन्झट कायमै रहेको प्रतिवेदनले औंल्याएको छ ।

एकैपटक १६ औँ स्थान अगाडि आउनु नेपालको लागि पहिलो पटक रहेको योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लेले बताए । नेपालजस्तै प्रकृतिका भारत, बंगलादेश, पाकिस्तान, म्यानमार लगायत देशहरु सुधार गर्ने २० मुलुकमा पर्दा नेपाल नपर्नु समीक्षाको विषय रहेको उनले बताए ।

समाचार वर्गहरू