काठमाडौं – सरकारका प्रवक्ता समेत रहेका अर्थ एवं सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन नहुने बताएका छन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले यस्तो बताएका हुन् ।
सरकारले अहिलेको अवस्थालाई हेरेर मुलुकव्यापी रुपमा लकडाउन नगर्ने भन्दै उनले जोखिम भएको स्थानमा स्थानीय प्रशासनले निषेधाज्ञा वा अन्य कुनै कदम चाल्न सक्ने बताए ।
मन्त्री खतिवडाले जोखिम हुने ठाउँमा सेवा रोक्दै जानुपर्ने अवस्था आउन सक्ने तर मुलुकव्यापी रुपमा लकडाउन नहुने प्रस्ट्याए । उनले भने, ‘सरकारले चैतमा घोषणा गरे जसरीको विधि अपनाएर जानेतर्फ सोचेको छैन । जोखिम बढ्यो भने स्थानीय प्रशासनले कदम चाल्न सक्छ ।’
संक्रमणको जोखिम नभएको ठाउँमा खुकुलो र संक्रमण भएको ठाउँमा कडा गर्ने सरकारको नीति रहेको उनको भनाइ छ । अर्थमन्त्री समेत रहेका खतिवडाले लकडाउनले अर्थतन्त्रमा पारेको प्रभावको पनि विश्लेषण भइरहेको बताए । उनले भने, ‘शरीर सुरक्षित राखेसँगै पेट पनि पाल्नु पर्ने अवस्था छ ।’
संक्रमितको संख्या बढ्दै गएकाले तत्कालै उद्धार भएर सार्वजनिक यातायात, विद्यालय वा अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने अवस्था नआईसकेको प्रवक्ता खतिवडाले बताए । जोखिम बढेकाले तत्काल नखोलौं भन्ने आवाज पनि आइरहेको उनले जानकारी दिए ।
काठमाडौंभित्र संक्रमणको जोखिम बढेकाले सिहंदरबार प्रवेशमा सर्वसाधरणलाई रोक लगाइएको मन्त्री खतिवडाको भनाइ छ । यस्तै उपत्यकामा जोरबिजोर प्रणाली संक्रमणको जोखिम बढेर नै लगाइएको उनले बताए ।