काठमाडौं – जिल्ला अदालत सर्लाहीले बालिकामाथि यौनजन्य कसुर गरेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति सजाय फैसला गरेको छ ।
न्यायाधीश जीवनकुमार भण्डारीको एक इजलासले बम्जनलाई १० वर्ष कैद र पीडितलाई रु पाँच लाख क्षतिपूर्ति भराउने आदेश फैसला गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।
यसअघि दोषी ठहर भएका बमजनको हकमा सोमबार सजाय निर्धारण बहस भएको थियो । बहसमा सरकारले जन्मकैद २० वर्ष सजाय हुनुपर्ने माग गरेका थिए । तर अदालतले आधामात्र १० वर्ष कैदको फैसला सुनाएको हो ।
बालिकाको परिवारले सर्लाहीको लालबन्दी नगरपालिकास्थित पत्थरकोटमा रहेको आश्रममा रहेका बेला बारा जिल्लाको निजगढ नगरपालिका–१२ निवासी ३० वर्षीय बम्जनले यौन शोषण गरेको भन्दै २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा किटानी जाहेरी दिएको थियो ।
‘लिटिल बुद्ध’ समेत भनिने बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौन हिंसा गरेको आरोप छ । बम्जनविरुद्ध पाँच परिवारले उजुरी दिएका छन् । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोप छ ।