तातोपानी भन्सारका उपसचिव बस्नेतविरूद्ध भ्रष्टाचार मुद्दा, १० करोड बिगो माग

24

(काठमाडौं) – सिन्धुपाल्चोकको तातोपानी भन्सार कार्यालयका प्रमुख सहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

सरकारी पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले तातोपानी भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेत सहित ५ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । बस्नेतले गैरकानूनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको भेटिएपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

बस्नेतले गैरकानुनी तरिकाबाट आर्जन गरेको सम्पत्ति आफ्ना जेठान नवीनकुमार गौली लगायत आफन्तको नाममा राखेको अख्तियारले जनाएको छ । भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ११ घर भई हाल काठमाडौंको धुम्बराही बस्ने बस्नेत २०४५ सालमा लेखापाल पदमा सार्वजनिक सेवा प्रवेश गरी हाल उपसचिवको रुपमा तातोपानी भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतको रुपमा कार्यरत छन् ।

प्रमुख भन्सार अधिकृत बस्नेत सहित उनकी श्रीमती सबिता, जेठान नविनकुमार गौली, जेठानकी श्रीमती सकुन्तला गौली र जेठानका छोरा शुलभ गौलीमाथि अख्तियारले मुद्दा दायर गरेको हो । बस्नेतले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी निजका जेठान नबिनकुमार गौली लगायतका आफन्तको नाममा समेत लुकाई राखेका छन् भन्ने उजुरीहरुका सम्बन्धमा आयोगले अनुसन्धान गरेको थियो । बस्नेतले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी आफू र आफ्ना नातेदारको नाममा लुकाएको प्रमाण सहित विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार सहप्रवक्ता गणेशबहादुर अधिकारीले बताए ।

बस्नेतले सार्वजनिक सेवा प्रवेश गरेदेखि २०७६ असार मसान्तसम्मको निजको समग्र आय र व्यय तथा लगानीको विश्लेषण गर्दा पारिश्रमिक बचत, घरजग्गा बिक्री, ऋण सापटी, घर बहाल, शेयर लाभांश, कृषि आय, भ्रमण भत्ता, सुन बिक्री, अंशबण्डाबाट प्राप्त आय, कमिशन तथा पुरस्कार, बिमा समेतबाट १ करोड ७८ लाख २० हजार ९ सय आय प्राप्त देखिएको अख्तियारले जनाएको छ ।

सोही अवधिमा निजको व्यय तथा लगानीतर्फ जग्गा खरिद तथा घर निर्माण, सुनचाँदी खरिद, ऋणको सांवा ब्याज भुक्तानी, सवारी साधन खरिद, विदेश भ्रमण, शेयर खरिद, छोराछोरीको अध्ययन खर्च, विभिन्न कर भुक्तानी, घर बहाल, सापटी, विद्युतिय उपकरण खरिद, बिमा प्रिमियम भुक्तानी, बैंक तथा सहकारीमा रहेको नगद मौज्दात समेत गरी ३ करोड १३ लाख ५९ हजार ७ सय ९३ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको अख्तियारले जनाएको छ ।

सो अवधिमा बस्नेतको आय भन्दा व्यय १ करोड ३५ लाख ३८ हजार ८ सय १७ रुपैयाँ अधिक देखिएको छ । बस्नेतले आफू प्रमुख भन्सार अधिकृतको रूपमा कार्यरत रहँदा विदेशबाट नेपाल आयात गर्ने सामानहरूको भन्सार छुटाउने प्रयोजनमा मोटो रकम घूस लिने गरेको अख्तियारको अनुसन्धानले देखाएको छ ।

यस्तै, बस्नेतले गैरकानूनी रकमहरु विभिन्न व्यवसाय गर्ने व्यक्तिहरु, विभिन्न पेशा व्यवसायमा काम गर्ने कर्मचारीहरु, व्यापारी एवं भन्सार एजेन्टहरु मार्फत संखुवासभा खाँदबारीका नविनकुमार गौलीले प्राप्त गर्ने गरी निज र निजको परिवारका सदस्यहरु एवं खाँदबारी स्थित विभिन्न व्यापारीहरुको बैंक खाता समेतमा ९ करोड २१ लाख ५२ हजार ७ सय ९२ रुपैयाँ जम्मा गर्न लगाएको आयोगको अनुसन्धानले देखाएको छ ।

त्यसरी जम्मा गरिएका कतिपय रकमहरु बस्नेतले विभिन्न व्यक्ति तथा कम्पनीमा नगदै बुझाउने र सम्पत्ति शुद्धिकरण गर्ने र लुकाउने उद्देश्यले कम्पनीकै नामको बैंकको चेक एवं कम्पनीमा कार्यरत कर्मचारीमार्फत समेत नविनकुमार गौलीले प्राप्त गर्ने गरी चेक तथा नगद जम्मा गर्ने गरेको अख्तियारले जनाएको छ ।

बस्नेतले जेठान नविनकुमार गौलीको नाममा जग्गा जमिन खरिद गरी बकसको रुपमा फिर्ता लिने गरेको तथा गौलीले प्राप्त गर्ने गरी पठाएको रकमहरु उनले खाँदबारीबाटै झिकी जग्गा खरिद, होटल व्यवसाय र अन्य व्यवसायमा लगानी गर्ने गरेको देखिएको आयोगले जनाएको छ । बस्नेत विराटनगर भन्सार कार्यालयमा कार्यरत रहँदाको अवधिमा गौलीले खाँदबारी बजार र आसपास क्षेत्रमा करिब सय रोपनी जग्गा खरिद गरेको भेटिएको छ ।

साथै नबिनकुमार गौलीले कृष्णबहादुर बस्नेत विराटनगर भन्सार कार्यालयमा कार्यरत रहँदाको अवधिमा खाँदबारी बजार र आसपास क्षेत्रमा १० करोड रुपैयाँको लागतमा आरती होटल निर्माण गरेको देखिएको छ । यस्तै, निजको नामबाट अर्बिट इनर्जी प्रा.लि मा २ करोडभन्दा बढी लगानी गरेको देखियो भने यसरी गरिएको लगानी रकम गौलीको ऋण, कृषि आय, जग्गा बिक्री समेतका विभिन्न शीर्षकबाट प्राप्त आयको तुलनामा अस्वाभाबिक रुपमा बढी देखिएको अख्तियारले जनाएको छ ।

यसरी समग्र जाँच अवधिमा कृष्णबहादुर बस्नेतको आफ्नै श्रोत नपुगेको रकम र जेठान नबिनकुमार गौलीको नाममा पठाएको श्रोत नखुलेको रकम समेत गरी जम्मा १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ स्रोत नखुलेको देखिएको अख्तियारले जनाएको छ । सोही रकम बराबरको बिगो माग दाबी सहित आयोगले शुक्रबार मुद्दा दायर गरेको हो ।

समाचार वर्गहरू