तिनकुनेको हरितगृह तरकारी बजारबाट ४२ बोरा प्याज जफत

22

काठमाडौं – प्याज लुकाएर कृतिम अभाव सिर्जना गर्ने कोटेश्वरस्थित तरकारी बजारका तीन जना व्यापारीको कारोबार रोक्का गरिएको छ । आलुभित्र प्याज लुकाएर कालोबजारी गरेको पाइएपछि उनीहरुको कारोबार रोक्का गरिएको हो ।

काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले तीनकुनेको हरितगृह तरकारी बजारबाट ४२ बोरा प्याज जफत गरेर प्रहरीको जिम्मा लगाएको छ । विशेष गौतमको पसलबाट २९ र उन्नत सब्जी भण्डारबाट १३ बोरा प्याज जफत गरेको अनुगमन समितिका सदस्य उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले जानकारी दिए ।

त्यस्तै, दुलाल आलु भण्डारका सञ्चालकले बिल बिजक जारी नगरी प्रतिकेजी ७० रूपैयाँले किनेको प्याज १ सय ४० देखि १ सय ५० मा बिक्री गरेको पाइएपछि तिनै जना व्यापारीको कारोबार रोक्का गरिएको छ । उनीहरूलाई महानगरीय पहरी वित्त, नयाँ बानेश्वरको निगरानीमा राखिएको छ ।

अनुगमनमा परेका सबैलाई १० बजे वाणिज्य विभागमा हाजिर हुन निर्देशन दिइएको छ । उनीहरुलाई उपभोक्ता हित संरक्षण ऐन अनुसार कारबाही हुने बताएको छ ।

समाचार वर्गहरू