तीन दिनदेखि शिक्षक-सरकारबिच छलफल, ११औं दिन पनि सडकमै शिक्षक

87

काठमाडौं – गत चैत २० गतेदेखी सडक आन्दोलन गर्दै आएका शिक्षकहरू र शिक्षा मन्त्रालयबिच तीन दिनदेखि छलफल जारी छ ।

शिक्षामन्त्री विद्या भट्टराई, शिक्षा सचिव डाक्टर दिपक काफ्लेसहितका मन्त्रालयका अधिकारीहरू र नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच छलफल चलिरहेपनि कुनै निकास भने निस्किन सकेको छैन।

नेपाल शिक्षक महासंघको तर्फबाट सहअध्यक्ष नानुमाया पराजुलीले नेतृत्व गरेकी छन्। मन्त्रालय र  महासंघबीच चैत २८ गते (बिहीबार) देखि छलफल जारी छ। पहिलो दिन महासंघले विद्यालय शिक्षा ऐन जारी गर्ने आधार, विगतमा भएका सहमति सरकारले किन कार्यान्वयन नगरेको लगायतका २४ बुदे सूचीसहित ध्यानाकर्षणपत्र बुझाएको थियो।

महासंघले उठान गरेका विषयहरूमा शिक्षा मन्त्रालयले आवश्यक गृहकार्य गरेर निष्कर्षमा पुग्ने जनाएको थियो । तर, तीन दिनसम्मको छलफलबाट कुनै निचोड ननिस्केको महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले जानकारी दिए ।

‘विधेयक अहिले अगाडि बढिरहेको छ। त्यो विषयमा शिक्षा मन्त्रालयसँग छलफल हुने कुरै भएन। मन्त्रालयसँग त हाम्रो गत वर्ष भएको सहमति किन कार्यान्वयन हुन सकेन भन्ने विषयमा छलफल चलिरहेको हो। यसमा मन्त्रालयले स्पष्ट जवाफ दिन सकेको छैन,’ अध्यक्ष सुवेदीले भने।

समाचार वर्गहरू