प्राधिकरणद्वारा तीन एकीकृत वस्तीको प्रारम्भिक योजना स्वीकृत

12

(काठमाडाैं) –  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रसुवाको र मकवानपुरमा गरी तीन वटा एकीकृत वस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ ।

प्राधिकरणको कार्यकारी समिति बैठकले रसुवाको एक र मकवानपुरमा दुई गरी तीन वटा एकीकृत वस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको हो ।

रसुवाको आमा छोदिङमो–२ को सानो हाकु टोलका ४६ विस्थापित घरधुरीलाई सोही गाउँपालिकाको पाङलिङमा प्राधिकरणको अनुदान रकमबाट जग्गा खरिद गरी ५१ घरधुरी एकीकृत वस्ती विकास गर्ने प्रारम्भिक योजना स्वीकृत गरेको हो ।

त्यसैगरी, मकवानपुरको राक्सिराङ र कैशाल गाउँपालिकामा बन्ने एकीकृत वस्तीहरुका प्रारम्भिक योजना स्वीकृत भएका छन् । राक्सिराङ–५ को चुरिडाँडा टोलका १० भूकम्प पीडित घरधुरीले मनहरी गाउँपालिका–६ को जोगीतालमा एकीकृत वस्ती निर्माण गरिने प्राधिकरणले जनाएको छ ।

त्यस्तै, कैशाल–१० को न्याम्सेढुंगा टोलका १० भूकम्प पीडित घरधुरीले सोही वडाको वमलटारमा एकीकृत वस्ती निर्माण गरिने छ । प्राधिकरणले एकीकृत वस्तीमा भौतिक पूर्वाधारका लागि प्रति घरधुरीका दरले रकम उपलब्ध गराउने छ ।

हिमाली जिल्लामा बन्ने एकीकृत वस्तीका लागि प्रति घर ५ लाख, पहाडी जिल्लामा प्रति घर ४ लाख र तराईका जिल्लामा बन्ने वस्तीका लागि प्रति घर ३ लाखका दरले एकमुष्ठ रकम उपलब्ध गराउने प्राधिकरणले जनाएको छ ।

यसैबीच, प्राधिकरणले ४२ हजार ७ सय ४२ गुनासो सम्बोधन सम्पन्न गरी ४ हजार ६ सय ४४ पुनर्निर्माण लाभग्राही थप गरेको छ । प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा पुन:जाँच सर्भेक्षणबाट प्राप्त गुनासो विश्लेषण पछि ती भूकम्प प्रभावितलाई लाभग्राही कायम गरेको हो ।

कार्यकारी समितिले ४ सय १० जनालाई सम्भावित लाभग्राही र २ हजार ६ सय ९ जनालाई प्रवलीकरण लाभग्राही कायम गरेको छ । त्यसैगरी, ३५ हजार ७९ जना गुनासोकर्तालाई गैरलाभग्राही कायम गरेको छ । बाँकी गुनासोहरुको शीघ्र विश्लेषण गरी नजिता निकाल्ने प्राधिकरणले जनाएको छ ।

समाचार वर्गहरू