काठमाडौं – नेपाल औषधि उत्पादक संघले कम्तीमा तीन महिनाका लागि औषधिको अभाव नहुने बताएको छ । भारतले औषधी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा औषधी अभाव हुने अनुमान भइरहँदा संघले यस्तो प्रतिक्रिया जनाएको हो । विश्वभर कोरोना संक्रमण बढीरहेको बेला भारतले २६ प्रकारका औषधि निर्यातमा प्रतिबन्ध लगाएको छ ।
संघले शुक्रबार एक विज्ञप्ती जारी गर्दै भारतले औषधी निर्यात रोके पनि कम्तीमा तीन महिनाका लागि नेपाली बजारलाई पुग्ने औषधी मौज्दात रहेको जनाएको छ ।
नेपाल ७५ प्रतिशत औषधिमा आत्मनिर्भर रहेको बताउँदै तत्काल कुनै विदेशी कम्पनीलाई गहार्नुपर्ने अवस्था नभएको विज्ञप्तीमा उल्लेख छ । सरकारले नीजि औषधि उत्पादक कम्पनीहरुसँग सहकार्य गरेर औषधि उत्पादन गर्न तथा बजारमा कमी हुन नदिन सहयोग गर्नुपर्नेमा पनि संघले जोड दिएको छ ।
नेपालमा हाल एलोपेथिक औषधिका ६२ उद्योग सञ्चालनमा छन् भने ४२ अन्य नयाँ उद्योग निर्माणाधीन छन् ।
