काठमाडौं – यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य लिटरमै १० रुपैयाँ बढाएपछि विभागले बुधबारबाट लागुहुनेगरी सवारीसाधनको भाडादर बढाएको हो ।
सरकारले विद्यमान भाडादरमा ५ दशमलव १ प्रतिशतसम्म भाडा बढाएको छ । पेट्रोलियम पदार्थको मूल्यमा घटबढ भएसँगै स्वचालित रूपमा सार्वजनिक सवारीसाधनको भाडा समायोजन हुने व्यवस्था लागू भएको छ ।
सोही कारण गत शनिबार भएको इन्धनको मूल्यवृद्धिलाई आधार मानेर भाडावृद्धिको निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
बढेको भाडादर दुई वा दुईभन्दा बढी प्रदेश भएर राष्ट्रिय रुटमा सञ्चालित सार्वजनिक सवारीसाधनमा लागू हुनेछ । यो केन्द्र सरकारको यातायात व्यवस्था विभागले गरेको निर्णय हो ।
यसैका आधारमा प्रदेश सरकारले पनि सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्ने विज्ञप्तिमा उल्लेख छ ।