त्रिकोणात्मक टी – ट्वान्टी सिरिजमा नेपाल र जिम्बावे भिड्दै

16

काठमाडौं – सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी – ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले आज (शुक्रबार) टेष्ट राष्ट्र जिम्बावेविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

इण्डियन एसोसिएसन क्रिकेट मैदानमा आज साझँ नेपाली समयअनुसार ५ बजेर १५ मिनेटमा जिम्बाब्वेसँग नेपालले खेल्न लागेको हो । टेष्ट राष्ट्र जिम्बाब्वेलाई पराजित गर्ने लक्ष्यमा नेपाली टिम रहेको छ ।

जिम्बावेविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । तर, युवा खेलाडीले भरिएको जिम्बावेविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन । यस सिरिजका लागि नेपालले घोषणा गरेको टिममा ३ नियमित सदस्य छैनन् ।

तर, टिममा दुई खेलाडीले पहिलोपटक स्थान बनाएका छन् । जसमा ईशान पाण्डे र कुशल मल्ल रहेका छन् । यस पटक घरायसी कामले ज्ञानेन्द्र मल्ल टिममा छैनन् । यस्तै अनुभवी खेलाडी शरद भेषवाकर र भेट्रान बलर बसन्त रेग्मी पनि टिम बाहिर रहेका छन् । यस्तोमा जिम्बावेविरुद्ध मैदान उत्रदा नेपाली टिममा युवा खेलाडीको बाहुल्यता हुनेछ ।

डबल राउण्ड रोविनको आधारमा सञ्चालन सिरिजमा नेपालले आफ्नो दोस्रो खेल शनिबार सिंगापुरसँग खेल्नेछ । त्यस्तै, तेस्रो खेलमा जिम्बाब्वेसँग अक्टोबर १ मा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै अक्टोबर २ मा सिंगापुरसँग खेल्नेछ । शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

कप्तान पारस खड्काको कप्तानीमा रहेको नेपाली टिममा अधिकांश युवा खेलाडी रहेका छन् । कुसल मल्ल र इशान पाण्डेले टिममा पहिलो पटक स्थान बनाएका छन् भने सुशान भारी, आरिफ शेख र सन्दीप जोराले पुनगरागमन गरेका छन् ।

समाचार वर्गहरू