काठमाडौं – देशको सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय वित्तीय अनुशासनमा भने कमजोर देखिएको छ । ६५ वर्षे इतिहासमा पछिल्लो वर्ष बेरुजु बढेर २८ अर्ब नाघेको छ । जब कि शैक्षिक सत्र ०८१/८२ का लागि त्रिविको बजेट २६ अर्ब १६ करोड ८७ लाख छ ।
कुलपति तथा प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा मंगलबार भएको त्रिवि सभामा रजिस्ट्रार प्रा.डा. केदार रिजालले बेरुजु २८ अर्ब ३२ करोड १६ लाख ३९ हजार पुगेको बताए । शैक्षिक सत्र ०८१/८२ को बजेट प्रस्तुत तथा आर्थिक समीक्षा गर्न आह्वान गरिएको सभामा त्रिविलाई बेरुजुबाट मुक्त गर्ने विषयमा पनि छलफल भएको छ ।
महालेखापरीक्षकको ५७औँ वार्षिक प्रतिवेदन (आव ०७५/७६ को)अनुसार त्रिविको बेरुजु २८ अर्ब ६७ करोड १९ लाख ४९ हजार थियो । त्यसपछि त्रिविले रणनीतिक रूपमा बेरुजु घटाउने योजना अघि सारेपछि ५८औँ प्रतिवेदनमा बेरुजु घटेर २४ अर्ब २६ करोड ८७ लाख ८५ हजारमा पुगेको थियो ।
त्यसपछिका वर्ष फेरि बेरुजु उकालो लाग्यो । महालेखाको ५९औँ प्रतिवेदनमा २६ अर्ब ६८ करोड ३९ लाख ५१ हजार र ६०औँ प्रतिवेदनमा बेरुजु २६ अर्ब ४९ करोड ५१ लाख १० हजार रहेको उल्लेख छ । पछिल्लो अर्थात् ६१औँ वार्षिक प्रतिवेदनअनुसार त्रिविको बेरुजु २८ अर्ब ३२ करोड १६ लाख ३९ हजार पुगेको छ ।
पछिल्लो समयत्रिवि कार्यकारी परिषद्ले ६ अर्ब बेरुजु सम्परीक्षणका लागि महालेखालाई विवरण पठाइएको थियो । तर, महालेखाले ऐन नै संशोधन गर्नुपर्ने बताउँदै सम्परीक्षण स्थगित गरेको थियो । जसका कारण आर्थिक वर्ष ०७८/७९, ०७९/८० र ०८०/८१ मा कुनै पनि बेरुजु सम्परीक्षणबाट फर्स्योट हुन नसकेको त्रिविका रजिस्ट्रार प्रा.डा. रिजालले बताए । सम्परीक्षण नहुँदा बेरुजु बढ्दै गएको उनको भनाइ छ ।
रजिस्ट्रार प्रा.डा. रिजालका अनुसार महालेखाको प्रतिवेदनले देखाएको बेरुजुमध्ये ७० प्रतिशत नीतिगत र ३० प्रतिशत असुलउपर गर्ने बेरुजु छ । नीतिगत व्यवस्थाविना नै खर्च भएको रकमलाई महालेखाले नीतिगत बेरुजुमा राखेको हुन्छ । कानुनी र नीतिगत सुधार भएमा यस्तो बेरुजु हटाउने गरिन्छ । तर, सम्बन्धित निकायले सुधार नगरे त्यस्तो बेरुजु पनि असुलउपर गर्नुपर्ने बेरुजुमा राखिन्छ ।
त्रिविको ६५ वर्षको अवधिमा थोरै–थोरै बेरुजु थपिएर बढ्दै आइरहेको रजिस्ट्रार रिजालको भनाइ छ । ‘हामीले सिस्टम र नीति फ्लो नगर्दा यस्तो भएको हो, यो भ्रष्टाचार होइन, विधि नजानेर हो, यसलाई बिस्तारै घटाउँदै लैजान्छौँ,’ उनले भने, ‘बेरुजु कम गर्न कर्मचारीलाई जिम्मेवारीसमेत गराएका छौँ ।’ स्नातकोत्तर तहमा अध्ययन गराउने अस्थायी शिक्षकलाई दिइएको तलबमा समेत महालेखाले ६० लाख बेरुजु देखाएको रिजालले बताए । एक घण्टाको घण्टीमा ४५ मिनेट मात्रै पढाएको र १५ मिनेटको रकममाथि महालेखाले प्रश्न उठाएको उनको भनाइ छ ।
पूर्वउपकुलपति तीर्थ खनियाँले त्रिविको बेरुजु अत्यधिक भएकाले यसबारे गम्भीर भएर अध्ययन गर्नुपर्ने बताए । ‘त्रिविको बेरुजु अध्ययन नै गर्नुपर्ने विषय बनेको छ, मेरो पालामा मैले निकै कोसिस गरेर केही बेरुजु घटाएको थिएँ, खारेज भइसकेका संस्थाको रकम पनि त्रिविको बेरुजुमा जोडिएको छ,’ उनले भने, ‘यो महालेखासँग समन्वय नभएर पनि हो, अर्को कुरा संरचना ठूलो भएकाले वित्तीय अनुशासनका लागि अनुगमन पनि पुगेको छैन ।’
हाल त्रिविअन्तर्गत पाँचवटा अध्ययन संस्थान, ६२ आंगिक क्याम्पस, चार शिक्षण स्कुल, एक हजार ६० वटा सम्बन्धन प्राप्त क्याम्पस, ४० केन्द्रीय विभाग र चारवटा संकाय छन् । नयाँपत्रिका दैनिक