त्रिवि उपकुलपतिको राजीनामा, न स्वीकृत न निरन्तर

48
फाइल फोटो

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले राजीनामा दिएको १० दिन बितिसक्दा पनि कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत गरेका छैनन् ।

प्रधानमन्त्री ओलीसँग बरालको राजीनामा स्वीकृत गरी नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढाउने वा राजीनामा अस्वीकृत गरी बराललाई नै जिम्मेवारीमा निरन्तरता दिने विकल्प छ ।

प्रधानमन्त्रीको हस्तक्षेप र सरकारको असहयोगका कारण बराललाई राजीनामा दिन बाध्य पारिएको उनी निकटस्थ प्राध्यापक बताउँछन् । बरालले पनि काम गर्ने वातावरण नभएकाले पद त्याग गरेको जनाउँदै विस्तृत कारण राजीनामाको टुंगो लागेपछि खुलाउने बताएका छन् ।

यद्यपि बरालले स्वास्थ्यको कारण उल्लेख गर्दै चैत १५ मा कुलपति कार्यालयमा सचिवालयका कर्मचारीमार्फत राजीनामा पत्र दर्ता गराएका थिए । राजीनामा स्वीकृत/अस्वीकृत गर्ने विषयमा कुनै पनि निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

त्रिवि ऐनमा उपकुलपति नभए रेक्टरलाई ३ महिनाका लागि निमित्तको जिम्मेवारी दिन सकिने र उक्त अवधिमा सिफारिस समिति गठन गरी उपकुलपति चयन र नियुक्तिको प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था छ । यी कुनै पनि प्रक्रिया थालनी नहुँदा विश्वविद्यालय नेतृत्वविहीन हुनका साथसाथै शैक्षिक तथा प्रशासनिक अन्योल छाएको प्राध्यापकहरू बताउँछन् ।

बराल २०८० फागुन १० मा उपकुलपति नियुक्ति भएका थिए । उनलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले उपकुलपति नियुक्त गरेका हुन् ।

समाचार वर्गहरू