(काठमाडौं) – महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा सोमबार पीसीआर परीक्षणका लागि प्रयोगशाला स्थापना गरिएको छ । कोरोना संक्रमित भए नभएको छुट्याउनका लागि पीसीआर ल्याब स्थापना गरिएको अस्पतालले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रुना झाले ल्याब पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गरिन् ।
नेपालमा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेकाले परीक्षणको दायरा पनि बढाउन पूर्ण क्षमतामा ल्याव सञ्चालन गर्न उनले आग्रह गरिन् । अस्पतालका कर्मचारीलाई तत्काल तालिम दिएर परिचालन गरिने पनि उनले बताइन् । शिक्षण अस्पतालमा रहेको पीसीआर मेसिन लामो समयदेखि बिग्रिएका कारण सेवा अवरुद्ध भएको थियो ।
कीर्तिपुरमा रहेको माइक्रोबायोलोजी विभागको ट्रफल रिसर्च प्रोगाममा रहेको पीसीआर मेसिन महाराजगञ्जमा सारेर सेवा सुरु गर्न लागिएको हो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा.धर्मकान्त बास्कोटाले एक सिफ्ट मा ९६ जनाको स्वाव परीक्षण गर्ने क्षमताको ल्याब स्थापना भएको बताए ।
यो सँगै देशभरी पीसीआर परीक्षणका लागि १७ वटा ल्याबहरु सञ्चालनमा आएका छन् । संक्रमितको संख्या बढिरहेको अवस्थामा परीक्षणको दायरा बढाउन यसले अझ सहयोग पुग्नेछ । त्रिविसँग तीनवटा पीसीआर मेसिन रहेका छन् ।