थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई आममाफी

59

काठमाडौं – थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले शनिवार आममाफी पाएका छन् ।

थाइल्यान्डका राजा महा वजिरालोङकोर्नले आफ्नो जन्मदिनको उपलक्ष्यमा आममाफी दिएका हजारौं व्यक्तिमध्ये ७५ वर्षीय धनाड्य पूर्वप्रधानमन्त्री थाक्सिन पनि एक हन् ।

१५ वर्षको आत्मनिर्वासनपछि झण्डै एक वर्षअघि स्वदेश फर्केपछि थाक्सिनलाई भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको अभियोगमा आठ वर्षको जेल सजाय सुनाइएको थियो ।

राजा वजिरालोङकोर्नले उनको सजाय कटौती गरी एक वर्षमा सीमित गरिदिएका थिए । उमेर र खराब स्वास्थ्यको कारण उनलाई आवश्यक परेको समय उपस्थित हुने शर्त (प्यारोल)मा रिहा गरिएको थियो ।

थाक्सिनका वकिल चाटमोन्ट्रीले सरकारी राजपत्रमा आममाफीको घोषणा गरिएको र आममाफी पाउने हजारौँ व्यक्तिमध्ये दुई पटक प्रधानमन्त्री भइसकेका उनी पनि रहेको बताए ।

शनिवार प्रकाशित शाही राजपत्रमा भनिएको छ, ‘राजाले ती माफी पाएका सबैजनालाई आफूलाई सुधार्ने र देशलाई फाइदा पुर्याउने अवसर दिनुभएको छ ।’

राजा वजिरालोङकोर्नले जुलाईको अन्त्यमा आफ्नो ७२ औं जन्मदिन मनाएको करिब एक महिनापछि असल आचरण भएका कैदीहरूलाई माफी दिइएको हो ।

समाचार वर्गहरू