दमकमा पाँच दिनदेखि निरौलाको शव सडकमा

56

काठमाडौं – झापाको दमक नगरपालिका– ९ का ३७ वर्षीय यमु निरौलाको हत्या भएको पाँच दिनसम्म परिवारले शव बुझेका छैनन् । हत्यामा संलग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका हुन् ।

परिवारले नबुझेपछि पाँच दिनदेखि निरौलाको शव दमक अस्पतालमा राखिएको छ । हत्यामा संलग्नलाई राजनीतिक संरक्षण भएकै कारण प्रहरीले पक्राउ गर्न नसकेको परिवारको आरोप छ ।

निरौलाको मंगलबार दमक– ३ स्थित मावा खोलानजिक जग्गा विवादका समयमा भेला भएकाको कुटाइबाट उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विगतमा क्रसर राखिएको यो जग्गामा एउटा पक्षले खरिद गरेको भन्दै एक्स्काभेटर लगेर सम्याउन थालेपछि विवाद उत्पन्न भएको स्थानीयले जनाएका छन् ।

गुन्डा नाइके भनेर चिनिएका दिनेश अधिकारी (चरी) र दमकका केही एमाले नेताहरूले सो जग्गामा क्रसर स्थापना गर्ने उद्देश्यले लगानी गरेको स्थानीय बताउँछन् । अधिकारीको इन्काउन्टरसँगै क्रसर राख्ने योजना सफल हुन नसकेपछि जग्गा खाली रहँदै आएको छ ।

हत्यामा एमाले कार्यकर्तासमेत मुछिएकाले प्रहरीले आनाकानी गरेको मृतक निरौलाका दाइ नवराज निरौलाले बताए । एमाले कार्यकर्ता जोडिएका कारण हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको निरौलाको आफन्तको आरोप छ ।

हत्या घटनामा एमाले कार्यकर्ता बुद्धि थापा र नम चेम्जोङसहित सातजनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । किटानी जाहेरीमा परेकामध्ये थापा पनि एमाले कार्यकर्ता हुन् । उनी एमाले प्रदेश सभा सदस्य होमबहादुर थापाका भाइ हुन् । चेम्जोङ युवा संघका पूर्वकेन्द्रीय सदस्य र प्रधानमन्त्री केपी ओलीनिकट मानिन्छन् ।

समाचार वर्गहरू