दलितकी श्रीमती गुरुङ, दलित कि गैर दलित ?

39

काठमाडौं – दलित संघले गैरदलित महिलालाई दलित कोटाबाट कोशी प्रदेशको सांसद बनाएको भन्दै पद खारेज गर्न माग गरेको छ ।

सुनसरीको बर्जु गाउँपालिका– २ की सुनिता गुरुङलाई दलित कोटाबाट समानुपातिक सांसद बनाएर राज्यमन्त्रीसमेत नियुक्त गरिसकेको भन्दै पद खारेज गर्न नेपाल दलित संघ कोशी प्रदेश समितिले माग गरेको हो ।

आइतबार कांग्रेस कोशी प्रदेश समितिका सभापति तथा संसदीय दलका नेता उद्धव थापालाई ज्ञापनपत्र बुझाउँदै दलित संघले गैरदलितलाई दलित कोटाबाट सांसद बनाउनु र मन्त्री पदमा नियुक्त गर्नु संविधानको समावेशी सिद्धान्तको मर्मविपरीत भएकाले उनको पद खारेज गर्न माग गरेको छ ।

गैरदलित महिलालाई दलित कोटाबाट सांसद बनाएर मन्त्री बनाउने तयारी भइरहेकाले कुनै पनि सार्वजनिक लाभको पदमा नियुक्ति नगर्न र पद खारेज गर्न माग गर्दै पार्टीलाई सचेत गराउन ज्ञापनपत्र बुझाएको दलित संघ कोशी प्रदेश समिति सचिव अमर बराइलीले बताए । उनका अनुसार सांसद गुरुङको पद खारेज गर्न माग गर्दै दलित समुदायले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।

सुनसरीको बर्जु गाउँपालिका– २ निवासी सांसद गुरुङले १४ वर्षअघि स्थानीय डोमी रामसँग प्रेम विवाह गरेकी हुन् । उनलाई कांग्रेसले दलित कोटाबाट कोशी प्रदेशको समानुपातिक सांसद र राज्यमन्त्री बनाएको थियो । दलितसँग अन्तर्जातीय विवाह गरे पनि नागरिकता नसच्याएको र थर गुरुङ नै कायम रहेकाले सुनिता दलित कोटाबाट सांसद बन्न योग्य नरहेको दलित समुदायको भनाइ छ । गुरुङ गत २७ असोज ०८० मा केदार कार्कीलाई मुख्यमन्त्री बनाउन विद्रोह गर्ने सांसद हुन् ।

समाचार वर्गहरू