दशैंका लागि आजबाट अग्रिम टिकट बुकिङ खुला

16

काठमाडौं – दशैं, तिहार र छठ पर्वमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको लागि आज आइतबारबाट बसको अग्रिम टिकट बुकिङ खुला भएको छ । आजबाट उपत्यका बाहिर चल्ने लामो दूरीका बसको अग्रिम टिकट बुकिङ सुरु भएको हो ।

काठमाडौं आसपासका लगायत अन्य नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

यातायात व्यवस्था विभागको पहलमा यातायात कम्पनीहरुले टिकट बुकिङ सुरु गरिएको हो । दशैंमा काठमाडौंबाट बाहिरिने यात्रुको चापलाई ध्यानमा राखेर आजैबाट टिकट बुकिङ खुल्ला गरिएको उनले बताए ।

आजबाट काठमाडौंको कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, सुन्धारा, नागढुंगा, जगाती, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू र लगनखेल लगयतका स्थानमा अग्रिम बुकिङ सुरु भएको छ । यो दशैंमा करीब ३० लाख जनाले काठमाडौं छाड्ने अनुमान गरिएको छ । यसरी घर फर्किनेमा अधिकांश सार्वजनिक यातायातकै प्रयोग गर्नेहरु हुन्छन् ।

टिकट बुकिङ खुले पनि उपत्यकामा यात्रु सहायता कक्ष भने असोज १० बाट मात्रै सुरु हुने भएको छ । बढी भाडा लिन खोजे, ब्ल्याकमा टिकट बिक्री गरे तथा अन्य कुनै समस्या भए यात्रुले विभाग वा ट्राफिक प्रहरीमा उजुरी गर्न सक्ने विभागले जनाएको छ ।

एकै समयमा धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले यो समयमा पहिले नै टिकट काट्ने प्रचलन छ । यातायात व्यवस्था विभागमा आफू जाने स्थानसम्मको भाडादरबारे पूर्व जानकारी राखेर टिकट काट्न जान यातायात व्यवस्था विभागले सबैलाई अनुरोध गरेको छ ।

समाचार वर्गहरू