रासस/तुलसीपुर – चालु आर्थिक वर्ष २०७६/७७ मा दाङमा १३ स्थानमा पार्क निर्माण हुन लागेका छन् । पर्यटन क्षेत्रको विकास गर्न पार्क निर्माण गर्न लागिएको डिभिजन वन कार्यालयले जनाएको छ । सहायक वन अधिकृत संयोग बस्नेतका अनुसार घोराही उपमहानगरपालिकामा छ, तुलसीपुर उपमहानगरपालिकामा चार, दङ्गीशरण, बङ्गलाचुली र बबईमा एक/एक पार्क निर्माण गर्न थालिएको हो ।
उनका अनुसार घोराहीमा मल्टिप्रपोच बोटानिकल गार्डेन, बाह्रकुने दहमा बहुउदेश्यीय पार्क निमार्ण, शहीद स्मारक पार्क, धारापानी धार्मिक क्षेत्रमा पार्कसहित भौतिक पूर्वाधार निर्माण, घोदौरामा सांस्कृतिक डबली र लखन थापा पार्क रहनेछन् ।
त्यस्तै तुलसीपुरमा बोटानिकल गार्डेन, चमेरे गुफा तथा सुकेदह संरक्षण एवं सोन्दर्यकरण पार्क, छिल्लीकोटमा पर्यटकीय क्षेत्र संरक्षण र नवदुर्गा सामुदायिक वनमा आधुनिक ग्रिन पार्क रहने छन् । बङ्गलाचुलीमा पार्क निर्माण, दङ्गीशरणमा कल्चरल पार्क तथा सालिक निर्माण, पुरन्धारा झरना गुरुयोजना निमार्ण तथा पानी मुहान संरक्षण रहने बस्नेतले बताए । तीमध्ये केही पार्क निर्माणको काम चलिरहेको र केही पार्क निर्माणका लागि सम्झौताको प्रक्रियामै रहेका उनको भनाइ छ ।
जिल्लामा पार्क निर्माणका लागि रु ११ करोड बजेट छुट्याइएको छ । गत आव २०७५/७६ मा जिल्लाका विभिन्न ठाउँको पहिचानको गरी २३ पार्क निर्माण गरिएका थिए ।